Logo

तस्कर र भ्रष्टाचारीहरूलाई कारबाही गर्दा एमाले बुरुकबुरुक उफ्रिहाल्छ : माओवादी नेता



काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले तस्कर र भ्रष्टाचारीहरुलाई कारबाही हुने बेला प्रमुख प्रतिपक्ष नेकपा एमाले बुरुक बुरुक उफ्रने गरेको आरोप लगाएका छन् ।
‘अहिले एक क्विन्टल सुन एमालेले पक्रेको हो त ? तस्कर, भ्रष्टाचारीहरुलाई एमालेले भनेर पक्राउ गरेको हो ? उनीहरुलाई कारबाही गर्ने भनेपछि एमालेलाई बुरुक्क बुरुक्क उफ्रिहाल्छ । पहिले पहिले (केपी) ओलीजीले सुनै गायब पार्नुभयो, प्रमुख मान्छे पत्ता लगाउन सक्नुभएन । एमालेलाई थाहा छ भने मुख्य ठेकेदार भनिदिनुपर् यो नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
बिडारीले सुनकाण्डमा सरकारले आवश्यक परे उच्चस्तरीय छानबिन समिति बनाउन सक्ने पनि बताए । उनले भने, ‘अहिले सुनको जालो तोड्ने कोसिस भइराख्या छ । मानिसहरु पक्राउ परेका छन् । प्रमाण फेला परेका छन् । सरकारले अन्य खोजी गरिरहेको छ । राजस्व अनुसन्धान विभाग, सीआईबीले हेरिरहेका होलान् । त्यति पनि थाहा नपाउने पार्टी हुन्छ र ?’ प्रतिपक्षी पार्टीले मुद्दा उठान गर्नु उचित भए पनि संसद् अवरोध गर्नु अपराध भएको उनले बताए ।
एउटा पत्रिकाले एक व्यापारीको फोटो छापेकाले एमाले अध्यक्ष केपी शर्मा ओली अन्टसन्ट बोलिरहेको टिप्पणी पनि उनले गरे । बिडारीले भने, ‘नयाँ पत्रिकाले एउटा ब्यापारीको फोटो छापेको छ । उहाँले त्यो व्यापारीमा आफूलाई देखिरहनुभएको छ । उहाँ किन बहुलाइरहनुभएको छ ? । पत्रिका सरकार अन्तर्गत हुन्छ र ?’
उनले एमालेले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुनपर्ने पनि बताए । बिडारीले थपे, ‘अहिलेका गृहमन्त्री आएपछि धेरै भ्रष्टाचारी र तस्करीको छानबिन सुरु भयो । यसलाई हटाइदिन पाए कारबाही हुँदैन कि भन्ठानेका होलान् । अहिले त गृहमन्त्रीको प्रशंसा गर्नुपर्ने हो । अहिले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैन । अर्थतन्त्रमा सुधार गर्नुपर्ने आवश्यकता छ । बरु अर्थमन्त्री र गभर्नरको कुरा मिलेको छ कि छैन ? गभर्नरले कि राजीनामा दिनुपर् यो कि अर्थमन्त्रीसँग समन्वय गर्नुपर् यो ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot