Logo

महामन्त्री गगन थापाले फरक मत दर्ज गराउने रहर गर्नुभो : मीन विश्वकर्मा



काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख एवं पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले आन्तरिक संगठन सुदृढीकरण र जनसरोकारका विषयमा पार्टी केन्द्रीय समितिले जोड दिएको बताएका छन् ।
‘साउन २ देखि १० सम्म चलेको केन्द्रीय समिति बैठकले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र जनसरोकारका विषयमा आवश्यक निर्णय लिएको छ । जनतामा जाने कार्यक्रम ल्याएको छ । साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक कार्यक्रम छन् । साउन १५ गतेभित्र भातृसंस्था र विभागलाई पूर्णता दिने, मल, बिउ, महँगी लगायतका विषय उठाएको छ । यो बैठक हलुका भयो, केही पनि भएन भन्ने साँचो होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नीति अधिवेशन नगरी किन महासमितिको बैठक डाक्नुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा विश्वकर्माले भने, ‘हामीले महासमितिको बैठक मंसिर १३ देखि १५ सम्म तोकेका छौं । त्यसले नेतृत्व चयनबाहेक महाधिवेशनले गर्ने सबै काम गर्छ । एक वर्षमा डाक्नुपर्ने महासमिति बैठक नभएकाले हामीले नीति महाधिवेशनलाई महासमितिमा रुपान्तरण गरेका छौं ।’
महामन्त्री गगनकुमार थापाले नक्कली भुटान िशरणार्थी प्रकरणमा मुछिएका नेताहरुका सम्बन्धमा आफ्नो फरक मत पार्टीमा दर्ज गरेको पनि विश्वकर्माले बताए । उनले भने, ‘पार्टी केन्द्रीय समितिको बैठकमा बहुमत सदस्यहरुले राखेको कुरा र उहाँको विचार फरक छ । यो सर्वसम्मत निर्णय हो । पार्टीले अदालतमा विचाराधीन विषयमा एस वा नो नभन्ने साझा धारणा बनाएको छ । बालकृष्ण खाण उम्किएको पनि होइन, दोषी किटान भएको पनि होइन । उहाँलाई निलम्बन गर्नु भनेको हामीले नै दोषी भन्नु हो । महामन्त्रीले आफ्नो फरक मत कायम गर्ने रहर गर्नुभयो । त्यसलाई पार्टी सभापतिले हलुका रुपमा नलिईकन स्वीकार गर्नुभएको छ । त्यो पार्टीको अभिलेखमा बस्छ । विधि, नीति र व्यवहारमा हामी स्पष्ट छौं ।’
पार्टी केन्द्रीय समिति बैठकमा सभापति देउवाले किन जवाफ दिनु भएन भन्ने पत्रकार धमलाको प्रश्नमा विश्वकर्माले भने, ‘यो प्रश्नोत्तर कार्यक्रम नै होइन । पार्टीको निर्णय नै सभापतिको जवाफ हो नि । उहाँ प्रतिक्रियात्मक हुनुहुन्न । ओठे जवाफ दिने उहाँको स्वभाव छैन । यो नै सबभन्दा उपयुक्त लिखित जवाफ हो ।’
सानो घटना हुने बित्तिकै गृह तथा अर्थमन्त्रीको राजीनामा माग्नु उत्ताउलो प्रवृत्ति भएको पनि उनले बताए । विश्वकर्माले भने, ‘कांग्रेसले नै सुन तस्करी काण्डमा मुछिएकालाई गहिरो अनुसन्धान गर्नुपर्ने धारणा दिएको छ । त्यसमा कुन पार्टीको मन्त्री वा व्यापारी भन्ने कुरा आउँदैन । सांसदले राजीनामा माग्नुभन्दा पनि अनुसन्धान सहयोग पुर् याउन धारणा मुखरित गर्नु स्वाभाविकै हो । तर सानो घटना हुने बित्तिकै गृह तथा अर्थमन्त्रीको राजीनामा माग्नु उत्ताउलो प्रवृत्ति हो ।’



प्रतिक्रिया दिनुहोस्