Logo

सूर्य थापालाई धमलाको प्रश्न– गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने बेमौसमी बाजा किन ?



काठमाडौं, ११ साउन । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले एक क्विन्टल सुन बरामद प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिक जिम्मेवारी लिनुपर्ने औंल्याएका छन् ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र सुरक्षा पार गरेको एक क्विन्टल सुन समातिएको छ । सिनामंगलबाट बालुवाटार जाने हो भनेर भरिया ट्याक्सी बुक गरेर हिँडेका छन् अनि यो कुरा पुष्पकमल दाहाल, नारायणकाजी र प्रकाशशरणलाई थाहा हुन्न भने कसलाई थाहा हुनुपर्ने हो ? यो नैतिक जिम्मेवारीको विषय होइन ? यो जवाफदेहीको विषय होइन ? गृह र अर्थमन्त्री केका लागि ? उहाँहरु होइन भने जवाफदेही को हो ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सांसद थापाले गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीलाई कारबाही गरेको धक्कु लगाउनु हास्यास्पद रहेको टिप्पणी पनि गरे । उनले भने, ‘अब सुनकाण्डको जवाफदेही भन्सारको सुब्बा खरिदार हो कि भरिया हो ? जो सबभन्दा भ्रष्ट छ, उसले धक्कु लगाउन बन्द गर्नुपर्छ । यसबारे उच्चस्तरीय छानिबन गर्नुपर्दैन ? धक्कु लगाएका भरमा भ्रष्टाचारविरोधी भइन्छ ? नारायणकाजीजस्तो पाखण्डी र ठूला कुरा गर्ने, स्टन्टबाजी गर्ने र नैतिकहराम मान्छे मैले गृहप्रशासनमा अहिलेसम्म देखेको छैन । मुसुमुसु हाँसेर जिम्मेवारी पूरा हुन्छ ? गृहमन्त्रीसँग कमानसिंह लामा ठगी प्रकरणमा न्याय दिने घोषणा गर्ने दम छ ?’



प्रतिक्रिया दिनुहोस्