Logo

नेपालमै पहिलोपटक यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि ट्रेकिङ गाईड तालिम



काठमाडौं, ११ साउन । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) द्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यौनिक तथा लैङिक अल्पसंख्यकहरु(एलजिविटिआइक्यूपल्स) का लागि आयोजित ट्रेकिङ गाइड तालीम सम्पन्न भएको छ ।

नेपालमै पहिलोपटक यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि आयोजना गरिएको तालिममा २५ जना यौनिक तथा लैङिक अल्पसंख्यकहरुको सहभागिता रहको थियो भने तालीम ३५ दिनसम्म संचालन गरिएको थियो ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि संचालित उक्त कार्यक्रम आफैँमा ठूलो सन्देश भएको बताए। समाजमा हरेक खालका मानिसहरुका लागि रोजगारी आवश्यक रहेको बताउँदै मन्त्री किराँतीले उक्त तालिमले (एलजिविटिआइक्यूपल्स) समुहका सदस्यहरुलाई पर्यटन क्षेत्रमा काम गर्न तथा स्वरोजगार बन्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘यो हेर्दा सानो काम देखिन सक्छ तर यसले दिने सन्देश ठूलो छ । यसबाट हामीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि (एलजिविटिआइक्यूपल्स) समुहका सदस्हरुलाई नेपाल आउन सहयोग पुग्ने छ ।’

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी नेपालका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले अल्पसंख्यकहरुलाई समाजको मुल प्रवाहमा ल्याउन अझै पनि ठलो चुनौती रहेको अवस्थामा उक्त तालिमले सो समुहको जिविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए।

नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै विश्वमा रहेको (एलजिविटिआइक्यूपल्स) समुहका सदस्यहरुलाई नेपालमा आर्कषित गर्न पनि यो तालीम कोशेढ्ङा सावित हुने बताए ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अर्जुन राईले यो तालीमले यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि रोजगारीको नयाँ अवसर खोल्ने अपेषा गरिएको बताए। तालिममा सहभागी शुलभ मोक्तानले यौनिक तथा लैङिक अल्पसंख्यकहरुका लागि आयोजना गरेको तालीमले आफुहरुमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको बताए ।



प्रतिक्रिया दिनुहोस्