Logo

वनमन्त्री डा. महतोको प्रश्न : झण्डै ४५ प्रतिशत भू–भाग ओगटेको वनले नेपालको समृद्धिमा किन योगदान दिन सक्दैन् ?



काठमाडौं, १२ साउन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले नेपाल वनको सही सदुपयोग र संरक्षणबाट समृद्ध बनाउन सकिने बताएका छन् । उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नको लागि पनि जंगलमा जडिबुटी र फलफूलको खेती गर्नुपर्नेमा जोड दिए ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको प्रथम वार्षिकोत्सव तथा छलफल कार्यक्रम–२०८० लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री महतोले वनसम्बन्धी धेरै संघ तथा संस्था भएपनि सबैको उद्देश्य भनेको वनको संरक्षण नै भएकोले सबैले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । यद्धपी वन संरक्षणको काम भने सन्तोषजनक रुपमा नभएको उनको गुनासो थियो । उनले वन संरक्षण गर्ने संघ तथा संस्थाहरुलाई मन्त्रालयको तर्फबाट सधैं साथ र सहयोग रहने पनि विश्वास दिलाए ।

उनले भने,‘म त तपाईँहरुलाई प्रोत्साहन गर्न चाहन्छु । हामी सबैको साझा उद्देश्य छ–वनको संरक्षण गरौं ।’ वनको उचित संरक्षण नहुँदा आज वातावरणमा ठूलो प्रभाव देखिएको र चुरे आसपासमा पानीको मुहान पनि सुक्न थालेको मन्त्री महतोको टिप्पणी छ । मन्त्री महतोले संघीयताको असली कार्यान्वयन आफ्नो मन्त्रालयबाट भएको पनि स्मरण गराए । उनले भने–‘आज वन मन्त्रालय भनेको शरिरको टाउकोमात्रै भएको छ, अरु अंग भनेको प्रदेश र स्थानीय तहमा गएका छन् । सबै तहका सरकारबीच समन्वयको खाँचो छ । सबै मिलेर वन तथा वातावरण जोगाउने काम गरौं ।’

मन्त्री महतोले अहिले आफू नेतृत्वमा रहेको वन मन्त्रालय विकासको विरोधी मन्त्रालयजस्तो देखिएको भन्दै आफूहरुले त वन जोगाउनको लागि कानून, ऐन र नियमानुसार काम गरेको सुनाए । उनले भने–‘झट्ट हेर्दा हाम्रो मन्त्रालय विकासको विरोधीजस्तो देखिएको छ । तर, हाम्रो मुख्य दायित्व भनेको नै जंगल जोगाउने हो । हामीले आफ्नो ऐन, नियम र कानूनमा टेकेर काम गर्दा हामीलाई विकासविरोधी जस्तो देखाउने भाष्य खडा भएको छ । यो गलत छ ।’ यद्धपी उनले आफ्नो मन्त्रालय समय सान्दर्भिक, स्मार्ट र समयको मागलाई सम्बोधन गर्नेगरि अघि बढ्ने पनि योजना सुनाए ।

उनले राष्ट्रसेवक कर्मचारीलाई व्यक्तिको भन्दापनि देश र जनताको हित हुनेगरि सुदुर भविष्यलाई ध्यानमा राखेर निर्णय लिन र काम गर्न सुझाव दिए । उनले भने,‘हामी भनेको त अस्थायी सरकार हौं, तपाईँहरु (कर्मचारी) भनेको यो देशको स्थायी सरकार हो । तपाईँहरुले व्यक्तिलाई हेरेर होईन, राष्ट्रको हितलाई हेरेर निर्णय लिनुहोस । अनि त्यहीअनुसार काम गर्नुहोस । तपाईँहरु स्थायी सरकार भएकोले स्थायी भिजन बनाउनुहोस ।’

उनले आज नेपालका वनबाट ठूलो मात्रामा आफैंमा उम्रिने झ्याउहरुमा प्रतिबन्ध लगाउनु गलत भएको पनि टिप्पणी गरे । उनले भने,‘यो न्याचुरल कुरा हो, आँफैं उम्रिने झ्याउ किन बन्द गरियो ? यो के कारणले बन्द गरियो भनेर सोध्दा यसको कुनै कारण नै छैन । हो, यही हो विडम्बना ।’

उनले वन व्यवस्थापनकै नाममा अहिले जंगल दोहनको काम भैरहेकोप्रति पनि आक्रोश पोखे । उनले दलैपिच्छे उपभोक्ता समितिहरु बनाउनुपनि गलत भएको तर्क गरे । सबैको उद्देश्य एउटै भएपछि दलैपिच्छे उपभोक्ता समिति बनाउनु नै गलत भएको उनको तर्क छ । उनले सागरनाथ वन विकास परियोजनाका कर्मचारीलाई पछिल्लो १२ महिनादेखि तलब सुविधा दिन नसक्नुको कारण पनि खुलाए ।

उनले काठको मापन विधि नै वैज्ञानिक नभएको उनको तर्क छ । त्यही फर्मुलाको कारण काठको विक्री तथा वितरण हुन नसकेको उनको भनाई छ । अहिले मानव र वन्यजन्तुवीच द्वन्द्व सिर्जना भैरहेकोप्रति सचेत गराउँदै उनले आगामी दिनमा मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गराउनेगरि सबै सरोकारवाला निकायले सशक्त र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । पछिल्लो समय जंगली जनावरको आक्रमणको कारण सयौंको संख्यामा नेपालीले ज्यान गुमाउनु परेको भन्दै यसतर्फ सबैजना गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

उनले ४५ प्रतिशत रहेको जंगलले नेपालको कुल ग्राहस्थ उत्पादनमा कति योगदान दिन सकेको छ भनेर पनि हेर्नुपर्ने सुनाए । विश्वका अन्य देशहरु खाडी मुलुकले तेल बेचेर आफ्नो देशलाई समृद्ध बनाएको उल्लेख गर्दै नेपालले पनि आफ्नो देशमा भएका प्राकृतिक साधन र स्रोतलाई सही उपयोग गरी मुलुकको समृद्धिमा योगदान पुर्याउनुपर्ने बताए ।

तर, नेपालमा वनलाई दोहन गर्ने गलत परिपाटी र परम्परा बसेको भन्दै मन्त्री महतोले यसरी कसरी देश समृद्ध हुन्छ भन्दै प्रश्न गरे । उनले अहिले चुरेको पनि त्यस्तै समस्या विकराल बनेको बताए । उनले भने–‘पहिला ४० फिटमा पानी निस्किन्थ्यो, अहिले ३०० फिटमा पनि निस्किँदैन् । अनि चुरे संरक्षण भएको रहेछ त ?’

मन्त्री महतोले अब वन पर्यावरण पयर्टनको विकासमा जोड दिनुपर्ने बताए । दक्षिण अफ्रिकाहरुले इको–टुरिज्मलाई बढावा दिएर विकासको लय समातेको भन्दै नेपालले पनि इको–फोरेष्ट, इको–टुरिजमलाई बढावा दिनुपर्ने मन्त्री महतोको भनाई छ । उनले जंगलमा फलफूल लगाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

फलफूल लगाउन सकिए जंगली जनावर मानव बस्ती र बालीनाली भएको ठाउँमा नआउने उनको भनाई छ । उनले कतिपय द्धेद्ध नीतिहरुको भने अब पूनरावलोकन गर्नुपर्नेमा जोड दिए । वनलाई बढाउनको लागि प्रतिष्पर्धा होस र सँगसँगै उत्पादन पनि होस भन्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्