Logo

‘बाढीपहिरो आदि विपद् आउँदा स्थानीय सरकार तत्कालै उद्धारमा सक्षम हुनुपर्छ’



काठमाडौं, १४ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले विकास निर्माणमा विवेक नपुर्‍याउँदा र प्राविधिक पक्षमा ध्यान दिन नसक्दा देशभरि बाढीपहिरोको जोखिम बढेको बताएका छन् ।
‘विगतमा विकास निर्माण गर्दा वातावरणीय प्रभावलगायतका विभिन्न पक्षको अध्ययन गरिएन । त्यसमा जथाभावी गर्दा प्राकृतिक सन्तुलन विग्रिएको छ । बेलैमा विवेक नपुर्‍याउँदा बाढीपहिरो बढेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि स्थानीय सरकारलाई सबै अधिकार छ । कुनै पनि विपद् आए उसले केन्द्रलाई वा अरु सकैलाई ताक्ने होइन, मिनेटमै आफैं काम सुरु गरिहाल्ने हो, अनि मात्रै अन्यसँग गुहार माग्ने हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रवक्ता खड्काले प्राधिकरण स्थानीय तहको क्षमता विकास र सचेतनाका कार्यक्रम गरिरहेको पनि बताए । उनले भने, ‘हामी अहिले सन् २०३० सम्म नेपाललाई विपद् उत्थानशील राष्ट्र बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्ने रणनीति बनाउँदै छ । त्यसमा स्थानीय तहलाई सक्षम बनाउनका लागि नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने कार्ययोजना बनाउँदै छौं । हामी अहिले स्थानीय तहको क्षमता विकास र सचेतनाका कार्यक्रम गरिरहेका छौं ।’
स्थानीय तहहरुले सुरुमै सम्भावित जोखिमको पहिचान गर्ने, त्यसको म्यापिङ गर्ने, जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि योजना बनाउने र कार्यान्वयन गर्ने, स्वयंसेवकहरुको व्यवस्था गरी उनीहरुलाई प्रशिक्षित गर्ने, विपद्का बेला आवश्यक पर्ने सामग्री तयारी अवस्थामा राख्ने लगायतका काम गर्नुपर्नेमा प्रवक्ता खड्काले जोड दिए ।
स्थानीय तहले गरेको तयारी र काममा थप जनशक्ति, सीप, तालिम, स्रोतलगायतका काममा प्राधिकरणले सहयोग गर्ने खड्काले बताए । कतिपय ठाउँमा विपद्लाई अझै पनि दैवीप्रकोपका रुपमा लिने मानसिकता रहेकाले त्यसलाई परिवर्तन गर्न अत्यावश्यक रहेको उनले औंल्याए । ‘विपद् जहिले पनि दैविक वा भाग्यका कारण आउने हो, हामी केही गर्न सक्दैनौं भन्ने मानसिकता राख्ने मानिसले न्यूनीकरणका प्रयास र तयारी गर्दैनन्, त्यसैले पहिला विपद् भाग्यले होइन, हाम्रै गलत कामले आउने हो भन्ने बुझाउन आवश्यक छ,’ उनले भने ।
साथै उनले प्राधिकरणले स्थापनाको जम्मा अढाइ वर्षमा थुप्रै काम गरेको पनि बताए । शाखा खोलेर सञ्जाल बढाउनेभन्दा पनि यसलाई प्रभावकारी बनाउन प्राधिकरण लागिरहेको खड्काको भनाइ छ ।

 



प्रतिक्रिया दिनुहोस्