Logo

गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन आग्रह



काठमाडौँ, १४ साउन । सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदहरूले गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन समाज कल्याण परिषद्लाई आग्रह गरेको छ ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले गैरसरकारी संस्थाको नवीकरण अत्यन्त झन्झटिलो भएको गुनासोहरू आइरहेको बताउँदै त्यसलाई अत्यन्त सहज बनाउन आग्रह गरेका हुन् ।

समितिका सदस्य लक्ष्मी तिवारीले संस्था नवीकरणमा समस्या देखिएको र झन्झटिलो रहेको भन्दै परिषद्ले नवीकरणलाई सहज बनाउनुपर्ने र संस्थाहरूको अनुगमन तथा मूल्याङ्कन गर्नुपर्ने बताए ।

सांसद कल्पना मियाँ कुसारीले अहिलेसम्म नेपालका सरकारी÷गैरसरकारी संस्थाहरूको अवस्थाबारे परिषद्ले अनुगमन गर्नुपर्नेमा जोड दिइन् । सांसद अनिता देवीले मधेस प्रदेशमा सरकारी÷गैरसरकारी संस्थाहरूको क्रियाकलाप थाहा हुनुपर्ने बताइन् । समिति सदस्य शान्ति विकले सरकारी÷गैरसरकारी संस्थाहरूले विभिन्न दातृ निकायबाट पैसा लिएर कार्यक्रमहरू गरे तापनि लक्षित समुदायसम्म पुग्न नसकेको टिप्पणी गरिन् ।

समितिका अर्का सदस्य शान्ति श्रेष्ठले गैरसरकारी संस्थाले परियोजनामार्फत कार्यक्रम सम्पन्न गरेपछि परिषद्ले अनुगमन गर्नुपर्ने धारणा राखिन् । परिषद्द्वारा सञ्चालित भृकुटीमण्डपको छाप्रो (हङ्कङ बजार) लाई थप सुधार गरेर व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद सरस्वती बजिमयले परिषद्ले सीपमूलक कार्यक्रममा जोड दिनुपर्ने बताइन् । समिति सदस्य मञ्जु शर्मा अन्सारीले गैरसरकारी संस्थाहरू उपलब्धिहीन भएको बताइन् । सांसद हितबहादुर तामाङ, हर्कमाया विश्वकर्मा र सीताकुमारी रानाले परिषद्मा आबद्ध नभई सञ्चालित संस्थाका बारेमा समेत परिषद्ले अनुगमन गर्नुपर्नेमा जोड दिए ।

समितिका ज्येष्ठ सदस्य तथा समिति सभापति रोशनी कार्कीले समितिको अर्को बैठकमा परिषद्का अध्यक्ष तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र परिषद्का उपाध्याक्ष समेतलाई आमन्त्रण गरी छलफल गर्ने अझ बृहत् छलफल गर्ने जानकारी दिइन् ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot