Logo

वर्षमान पुनको गुनासो : नियोजित चलखेलका रूपमा मेरो नाम दावासँग मुछ्ने प्रयास भयो



काठमाडौं, १५ साउन । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितता विरोधी अभियानलाई अन्यत्रै मोड्न नियोजित चलखेलका रूपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको गुनासो पोखेका छन् ।

उनले सुन तस्करीको विषयमा छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बिहान बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको उनको स्पष्टोक्ति थियो । हिजोबाट दावासँग पुनको तस्विर फाइरल भैरहेको छ ।

पुनले आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एक पटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिएका हुन् । उनको भनाई थियो–‘‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो, यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो।’ File Photo



प्रतिक्रिया दिनुहोस्