Logo

साउनमा सन्तानेश्वरमा धार्मिक पर्यटकको लर्को



राँझा, १५ साउन  । बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ ।

साउनमा सामूहिक रुपमा सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्नेको यतिबेला दैनिक रुपमा लर्को लाग्ने गरेको छ । सोमबारको दिनमा टाढा टाढाबाट भक्तजन सन्तानेश्वर मन्दिर पुग्ने गरेको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिए ।

नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब आठ किलोमिटर पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ । नेपालगञ्जबाट २२ किलोमिटर टाढा पर्ने नरैनापुर गाउँपालिकाको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर उकालो पहाड हिँडेपछि सन्तानेश्वर मन्दिर पुगिने यादवले बताए ।

उनका अनुसार सन्तानेश्वर मन्दिरमा नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट भक्तजनहरुको भीड लाग्ने गरेको छ । पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने बाटो बनिसकेको छैन । अप्ठ्यारो बाटो भए पनि भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । सहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकोले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन र पैदल यात्राका लागि नेपालगञ्जबाट समूह बनाएर भक्तजन पुग्ने गरेका छन् ।

आज नरैनापुर–५ मटेहिया चोकदेखि धार्मिक पर्यटकीय क्षेत्र सन्तानेश्वर महादेव मन्दिरसम्म धार्मिक यात्रा एवं मन्दिर परिसरमा बृहत भण्डारा तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । स्वस्पूmर्त रुपमा आयोजना गरिएको धार्मिक यात्राका कारण पनि आज सन्तानेश्वर मन्दिरमा धेरै भीडभाड हुने स्थानीय आयोजक विनय दीक्षितले बताए ।

हुलाकी सडकअन्तर्गत नेपालगञ्ज–बघौडा सडकको कोहलाबाट करिब तीन घण्टाको पहाडी बाटो छिचोल्दै सन्तानेश्वर महादेव मन्दिर पुग्न सकिन्छ । पर्यटकीय सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न बाँकेबाट मात्र नभइ भारत र छिमेकी जिल्लाबाट समेत भक्तजन त्यहाँ पुग्ने गरेको दीक्षितको भनाइ छ ।

सन्तान नभएकाले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भइसकेका व्यक्ति त्यस ठाउँमा गएर आफ्नो सन्तानका लागि मनोकामना गर्दा सबै पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताए ।

सन्तानेश्वर मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या वर्षेनी बढ्दै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । उनका अनुसार सन्तानेश्वर मन्दिरमा साउन महिनाको सोमबार र शनिबार विशेष भीडभाड हुने गर्दछ । गाउँपालिकाको मन्दिरमा सोलार बत्ती तथा पानीको व्यवस्था र मन्दिरसम्म पुग्नका लागि बाटो बनाउने योजना रहेको छ ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि काम गरिने बताए । राप्तिसोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक पर्यटन मार्गका रुपमा विकास गर्ने योजना अघि सारेका उनले जानकारी दिए ।

सांसद ढकालले पर्यटकीय सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा सहज रुपमा पुग्न सडक निर्माणमा सहयोग गर्ने र कोहलामा घरबास निर्माणका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिएका छन्। रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot