Logo

एमालेको बटमलाइन उच्चस्तरीय छानबिन समिति नै हो, त्यो नबनुन्जेल सदन चल्दैन : सचेतक



काठमाडौं, १६ साउन । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी छानबिनका लागि सरकार उच्चस्तरीय समिति गठन गर्न तयार नभएसम्म संसद्का अन्य प्रक्रिया अगाडि नबढ्ने ठोकुवा गरेका छन् ।
‘सरकारको सिग्नल र सेटिङबिना सुन तस्करीका यस्ता घटना हुनै सक्दैन । सरकारी संयन्त्र, उच्च नेतृत्व र सत्तारुढ दलका नेताहरुको कहीं न कहीं संलग्नता देखिन्छ । जिम्मेवार मानिसहरुको भूमिकामा प्रश्न सिर्जना भएपछि हामीले उच्चस्तरीय छानबिन समिति गठनको माग राखेका हौं । त्यो नबन्दासम्म अहिलेको अवरोध जारी रहन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सचेतक बर्तौलाले सुनकाण्डमा सत्तासीन पार्टीका मूर्धन्य नेताहरु जोडिन थालेकाले सरकार उच्तस्तरीय छानबिन समिति गठन गर्न डराइरहेको आरोप पनि लगाए । उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँच छलेर क्लिन्टलका क्विन्टल सुन आएपछि सत्तारुढ दलकै सांसदले गृह र अर्थमन्त्रीको राजीनामा मागिरहेका छन् । सत्तासीन पार्टीका मूर्धन्य नेताहरु जोडिन थालेकाले यसको नेक्सस खोजिनुपर्छ । तर सरकार उच्तस्तरीय छानबिन समिति बनाउन किन सहमत छैन ? किन आनाकानी गरिरहेको छ ? किन डराइरहेको छ ? किन आत्तिइरहेको छ ?’ जनताको सरोकार जोडिएकाले नै आफूहरुले संसद्मा यो विषयलाई जोडदार रुपमा उठाइरहेको उनले बताए ।
सरकारले बनाउने उच्चस्तरीय छानबिन समिति नबनाए एमालेले के गर्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘पहिले बन्न त दिनुस् । यसले कति काम गर्छ भन्ने हामी भोलि हेरौंला । निगरानी गरौंला । अहिले हाम्रो बटमलाइन उच्चस्तरीय छानबिन समिति नै हो ।’



प्रतिक्रिया दिनुहोस्