Logo

पोखराको किङ्स लाउन्ज बन्द गर्न विभागको आदेश, दरबार मार्गस्थित द किङ्स लाउन्जको ट्रेडमार्क चोरेको पुष्टि



काठमाडौं, १६ साउन । उद्योग विभागले पोखरामा सञ्चालनमा रहेको किङ्स लाउन्ज बन्द गर्न निर्देशन दिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको द किङ्स लाउन्ज एण्ड पब प्रा.लि. को ट्रेडमार्क प्रयोग गरी सञ्चालन भएको पाईएपछि विभागले बन्द गर्न निर्देशन दिएको हो ।

हुबहु नक्कल गरी लोगो, नाम र लेबलसहितको ट्रेडमार्क प्रयोग गरेको भन्दै विभागमा उजुरी परेको थियो । काठमाडौंस्थित किङ्स लाउन्जले दायर गरेको उजुरीमा आदेश जारी गर्दै विभागले पोखरामा सञ्चालनमा रहेको किङ्स लाउन्ज बन्द गर्न भनेको हो ।

पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन– २०२२ ले गैरकानुनी तवरले ट्रेडमार्क प्रयोग गर्न नहुने व्यवस्था गरेको छ । गैरकानुनी रुपमा अवथा अनुमति बेगर ट्रेडमार्क प्रयोग गरिए कसूरको मात्रा अनुसार एकलाख रूपैयाँसम्म जरिवाना हुन सक्ने र उक्त कसूरसँग सम्बन्धित मालसामान जफत हुने व्यवस्था रहेको छ ।

‘उजुरीकर्ताको नाममा दर्ता रहेको उक्त ट्रेडमार्क हुबहु रुपमा लोगो प्रयोग गरी उक्त लोगोमा पोखरा शब्द थप गरी यी विपक्षीले उस्तै लोगो बनाई होटल संचालन गरेको देखियो ।’ विभागका महानिर्देशक बाबुराम गौतमबाट जारी आदेशमा भनिएको छ, ‘उजुरीकर्ताको दर्ता रहेको सो लोगो प्रयोग गरी होटल/ रेष्टुरेन्ट व्यवसाय संचालन नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम विपक्षीका नाममा अन्तरकालीन आदेश जारी हुने ठहर्छ ।’

पोखरा किङ्स लाउन्जले देशका विभिन्न ठूला सहरमा ५० लाखसम्ममा आफ्नो शाखा विक्री गरेको पाईएको छ । अहिले बुटवल, इटहरी र नेपालगञ्जमा पोखरा किङ्स लाउन्जको शाखा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot