काठमाडौं, १७ साउन । उपसभामुख इन्दिरा राना मगरले प्रधानन्यायाधीश सिफारिसमा भागबन्डाको कुरा नभएको बताएकी छन् ।
‘हिजो संवैधानिक परिषदको बैठक धेरै विषय थिए । प्रधानन्यायाधीशको मात्र नभएर संसदीय समितिको सभापति लगायत रिक्त भएका सबै ठाउँ पूरा गर्नुपर्छ भन्ने कुरा उठे । आज मन्त्रिपरिषद्को बैठक भएकाले भोलि नै निर्णय गर्ने कुरा भयो । भागबन्डा नमिलेर निर्णय नभएको होइन, त्यो कुरा भएको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।
उपसभामुख मगरले प्रधानन्यायाधीशमा कसलाई सिफारिस गर्ने भन्ने निक्र्यौल नभएको पनि औंल्याइन् । उनले भनिन्, ‘कसलाई गर्ने भन्ने कुरा उठ्या छैन । वरिष्ठताका आधारमा गर्ने भन्ने कुरा पनि उठेको छ । प्रधानन्यायाधीशले मैले अर्कोलाई उत्तरदायित्व दिएर जान पाउँदा राम्रो हुन्थ्यो भन्नुभयो । कुरा त्यत्ति हो ।’
सुनकाण्डलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदन अवरोध गर्न नहुने पनि उनले बताइन् । मगरले थपिन्, ‘प्रतिनिधिसभा जनताका आवाज गुन्जिने ठाउँ हो । सुनकाण्ड गम्भीर विषय हो । तर जनताको आवाज सुन्न नसके सदनको के काम ? साउन २२ मा संसद् चलाउनका निम्ति हामीले सहजीकरण गरेका छौं । देशमा कति धेरै समस्या छन् । महिला सांसदहरु आफ्ना कुरा राख्न नपाउँदा आक्रोशित हुनुहुन्छ । जनताले आगो बाल्ने बेला भइसकेको छ । अहिलेको युगमा पनि त्यसरी अवरोध गरेर सोलुसन हुँदैन । विरोधका अरु विकल्प खोज्नुपर्छ ।’