Logo

रामनारायण बिडारी भन्छन्— पार्टी अध्यक्षमा कुनै अल्लारेलाई लगेर राख्ने कुरा भएन नि



काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हटाउनुपर्छ भनेर कसैले नभनेको दाबी गरेका छन् ।
‘हिजो अध्यक्षले राजनीतिक प्रतिवेदन पढेर सुनाउनुभयो । अध्यक्षले त्यसमा चित्त बुझेन, सच्याउन मन लागे ५-५ मिनेटमा सुझाव राख्न भन्नुभएको छ । सात सय जना हाराहारीको बैठकमा एकदुई जनाले आलोचना गर्नुभएको छ । तर पार्टी अध्यक्ष हटाउनुपर्छ भनिएको छैन, पुस्तान्तरणको सामान्य कुरा उठेको छ । नेतृत्व भनेको अध्यक्ष मात्र होइन स्थायी समिति पनि नेतृत्व नै हो । आलोचनालाई पार्टीले पोजिटिभ रुपमै लिन्छ । पार्टी नेतृत्वमा कोही अल्लारेलाई ल्याएर राख्ने कुरा भएन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेताका छोराछोरीहरु बदमासी संलग्न भएको खबर बाहिर आएकाले त्यता ध्यान दिन पनि केन्द्रीय सदस्यहरुले भनेको बिडारीले बताए । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको स्वकीय सचिवमा परिवार राख्नै नहुने भन्ने नभएको पनि उनले औंल्याए । बिडारीले थपे, ‘स्वकीय सचिवमा आफूलाई सहज हुने, चौबीसै घन्टा उपलब्ध हुने, गोपनीयता राख्ने मान्छे चाहिन्छ । आफ्नो मान्छे ट्वाक्कै राख्न नहुने, अछुतो राख्नुपर्ने भन्ने छैन । प्रचण्डको स्वकीय छोरी पनि हुनुहुुन्छ, नारायणकाजीको भतिजो पनि हुनुहुन्छ । तर उहाँहरु मात्र हुनुहुन्न ।’
लाभको पदमा बसेका नेताहरुका सम्पत्ति सार्वजनिक गर्नुपर्छ भन्ने कुरा गलत नभएको पनि बिडारीले बताए । उनले भने, ‘हाम्रा नेताहरु सम्पत्ति खोज्न गयो भने केही पनि छैन भन्छन् । जीवनशैली चाहिँ धनाढ्यको जस्तो छ । एउटै व्यक्तिले पार्टीको पनि नेतृत्व गरेको छ, मन्त्री पनि उही छ । राम्रो पनि खाएको छ, मीठो पनि लगाएको छ ।’ नेकपा (माओवादी केन्द्र) लथालिंग र भताभुंग भएको कुरामा सत्यता रहेको पनि उनले औंल्याए । बिडारीले थपे, ‘माओवादी चुस्त दुरुस्त तन्दुरुस्त छैन । तर नेपालमा सबभन्दा राम्रो पार्टी माओवादी नै हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot