Logo

गैरसंसदीय अभ्यास गरिरहने एमालेलाई ‘फेस सेभिङ’ गर्न दिनुहुन्न : कांग्रेस सांसद



काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले प्रमुख प्रतिपक्ष नेकपा एमालेले गैरसंसदीय अभ्यास गरिरहेको आरोप लगाएका छन् ।
‘उच्चस्तरीय छानबिन समिति वा संसदीय समिति कानुनभन्दा माथि हुँदैनन् । यस्ता समिति धेरै बने, प्रतिवेदन बने, थन्किए । यसले कानुन बमोजिम भइरहेका अनुसन्धानमा नै नोक्सान पुर् याउन सक्छ । संसद् चल्न नदिएर भन्दा संसद् खोलेर सरकारलाई दबाब सिर्जना गर्न सजिलो हुन्थ्यो । संसद् चल्नै दिन्नँ भन्नु बालहठ हो । यस्तो गैरसंसदीय अभ्यासलाई निरुत्साहित गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
७९ जना सांसद भएको पार्टीले २७५ जना सांसदको अधिकार कुण्ठित गर्न नमिल्ने पनि घिमिरेले बताए । उनले भने, ‘यस्तो संसारमा कतै पनि हुँदैन । संसद्बाहिर बोलेका कुरामा पनि संसद् अवरुद्ध गरिदिया’ छ, कहिले कसको राजीनामा मागेको छ, कहिले कसको राजीनामा मागेको छ । तर हामी पनि निर्वाचित सांसद हौं । अब हामीले कहाँ गएर बोल्ने ? यो जनअभिमतप्रतिको कुठाराघात हो । अब एमालेलाई फेस सेभिङ गर्न पनि दिनुहुन्न । ७९ सांसद लिएर २७५ जनाको संसद्लाई बन्धक बनाइरहने ?’
सुन तस्करीको अनुसन्धानमा राजस्व अनुसन्धान विभागसँगै सीआईबीलाई पनि समेट्नुपर्ने उनले औंल्याए । घिमिरेले भने, ‘सुन तस्करीमा केही राजनीतिक नेता र परिवार पनि प्रस्ट रुपमा मुछिएका छन् । यसमा हाम्रा पनि प्रश्न छन् । उनीहरुमाथि किन छानबिन भएन ? किन बयान लिइएन ? एमालेले संसद् नै बन्द गरिदिएपछि हामीले कहाँ गएर बोल्ने ?’
गैरसंसदीय क्रियाकलाप गरेको सजाय जनताले दिने पनि घिमिरेले बताए । उनले भने, ‘एमालेले संसद् खोल्नुपर् यो । जे कुरा हो, त्यो संसदमै उठाउनुपर् यो । आजको दिनमा तस्करीको पक्षमा कुन पार्टी उभिन सक्छ ? विगतमा गृहमन्त्री, आईजीपी सुन तस्करीमा संलग्न भएको देखिएकै हो । छानबिन गर्न बाध्य पार्ने त संसद्बाट हो नि ।’
एमालेले संसद अवरोध गरेर सरकारलाई नै फाइदा पुर् याएको आरोप पनि सांसद घिमिरेले लगाए । उनले थपे, ‘संसद् अवरोध गरेर सरकारलाई नै हाइसन्चो भयो । उसको नीति तथा कार्यक्रम, बजेट पास भइहाल्यो । उसले अध्यादेशबाट पनि चलाउला देश । यसको दोष त एमालेलाई नै जान्छ नि ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot