– गोपालप्रसाद बराल
महोत्तरी, १९ साउन । दिनहुँ चरन क्षेत्रमा चार/पाँच भैँसी अघिपछि लगाएर चरनमा लैजाँदै/ल्याउँदै भेटिन्छन् भङ्गाहा–४ रामनगरको मुसहरीटोलका ६५ वर्षीय जुगल सदा । दुई दशकअघि पनि सदा यसरी नै भैँसीकै अघिपछि देखिन्थे । त्यतिखेर गिरहत (मालिक) को भैँसी चराउने जुगलका अहिले चराउन लगिने भैँसी आफ्नै हुन् । बनिबुतो गरेर बर्सेनि एक/दुई ससाना पाडी जोड्दै गरेका जुगलका गोठमा अहिले पाँच भैँसी छन् ।
‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ आहानमा उभ्याइने मुसहर अब आफ्नो परिचय फेर्दैछन् । शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक गतिविधि र अर्थोपार्जनमा पूरै बेखबर रहने मुसहर अब यी क्षेत्रमा चासो बढाउँदै आफ्नो समुदायको पुरानो परिचय फेर्दै गरेका देखिन्छन् ।
जुगलकै छिमेकी हेमकुमारी सदाका खोरमा पनि आफ्नै छ/सात बाख्रा छन् । त्यसै बस्तीकी सुशिला सदाले पनि भैँसी, पाडापाडी गोठमा बढाउँदै गएकी छिन् । जन्मदेखि मृत्युसम्म गिरहतको सेवाबाट प्राप्त हुने बनी (पारिश्रमिक) ले चल्ने मुसहरको जीवन अब आफ्नै सञ्चित उपार्जनबाट हुन थालेको छ ।
मधेसमा खेतिहर मजदुरी (कृषि कार्यका श्रमिक) मुख्य पेसा मानिने मुसहर ‘टाला बोक्ने’ (माटो काट्ने, सम्याउने, अग्लो ठाउँको माटो काटेर टाला काँधमा राखेर होचो ठाउँमा भर्न लाने) कामका पोख्त मानिन्थे । समय क्रममा यस्ता कामका लागि यान्त्रिक उपकरण (ट्र्याक्टरसहितका यान्त्रिक उपकरण)को प्रयोग बढेसँगै मुसहरको यो पुख्र्यौली परिचयको काम घट्दै गयो ।
गिरहतको खेतमा हलो जोत्ने, कोदालो खन्ने, ब्याड काढ्ने, धान रोपाइँ गर्ने र काट्ने, थन्क्याउनेसम्मका काममा मुसहर नै खास जनशक्ति रहँदै आएका हुन् । टाला (दुईतिर माटो राखेर बाँसको भाटामा गुथ्याइएको भार) बोकेर काँध फुलेका देखेपछि यी मुसहर भन्ने अड्कल लगाइनु आम कुरा हुन्थ्यो । समयक्रममा मुसहर किशोर र युवा कमाउन विदेशिन थालेपछि यता कृषि जनशक्तिको अभाव तथा मुसहरको कामको क्षेत्र फेरिँदै जीवनचर्यामा आर्जनको धोकोसँगसँगै बढेको भङ्गाहा–१ का बासिन्दा समाजशास्त्री शिवराज दाहाल बताउछन् ।
धेरैथोरै महोत्तरीका सबै जसो स्थानीय तहमा बसोबास देखिने यो जाति समुदायको बाक्लो बस्ती भङ्गाहा, गौशाला, लोहारपवट्टि, बर्दिबास, मनराशिशवा, एकडारा र बलवासहितका स्थानीय तहमा रहेको पाइन्छ । शिक्षा, स्वास्थ्य, सामाजिक गतिविधि, अर्थ सञ्चय र राज्यका अवसरबाट पूरै बेखबर यो समुदायका बूढापाका अझै आफ्नो जन्म नै गिरहतको सेवाका लागि भगवान्ले गराएको ठान्छन् । अब बल्ल नयाँ पुस्ताले परिचय फेर्दै लगेपछि यो जाति समुदाय मानवीय आवश्यकताका क्षेत्रमा चासो बढाउन थालेका दाहालको भनाइ छ ।
“अब मुसहर बालबालिका विद्यालय भर्ना हुन थालेका छन्, यद्यपि यिनीहरुको विद्यालय आउजाउ अझै नियमित हुन सकेको छैन, यो गरिबीको पक्षसँग पनि जोडिएको छ”, दाहाल भन्छन्, “मुसहर बालबालिकाको पठनपाठन टिकाउ बनाउन शैक्षिक सामग्री, पोसाक , खाजाको नियमित प्रबन्ध र अभिभावकलाई उत्प्रेरित गराउने काम सँगसँगै गरिए थप सकारात्मक परिणाम आउँछ ।” अहिलेको वयस्क पुस्तामा छोराछोरी पढ्न पठाउनुपर्छ भन्ने चेत चाहिँ मुसहरमा बढ्दै गएको दाहालको ठम्याइ छ ।
“शिक्षा जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने बिस्तारै हाम्रो समुदायले बुझ्दै गएको छ”, जिल्लामा मुसहर समुदायबाट स्नातक तह उत्तीर्ण गर्ने केही सङ्ख्याभित्रका बर्दिबास नगरपालिका–१४ मुसहर बस्तीका २५ वर्षीय मञ्जय सदा भन्छन्, “आर्थिक, सामाजिक र सांस्कृतिक कारणले पनि हाम्रो समुदाय उक्सिन केही समय लाग्छ, तर अब यो प्रयत्न अघि बढाइन्छ ।”
जिल्लामा कूल २७ हजार तीन सय ५२ जनसङ्ख्या (२०७८ को जनगणनाअनुसार) रहेको यो समुदायबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने १५ भन्दा तलै र स्नातक तह उत्तीर्ण गर्ने त पाँचमुनि रहेका जिल्ला शिक्षा विकास समन्वय एकाइले जनाएको छ । यो सङ्ख्याभित्र छोरी एकजना पनि पर्दैनन् ।
पछिल्ला दिनमा यो समुदायभित्र स्वास्थ्य सचेतना र चासो पनि बढेको छ । जिल्लाको लोहारपट्टि नगरपालिका–५ डोठाराको मुसहर बस्तीमा घरघरैजसो चर्पी बनेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको उत्प्रेरणाले यहाँका बालबालिका विद्यालय जाने क्रम बढ्दो छ । यस समुदायका व्यक्तिले विकास अवसरका कुरामा आफ्नो बस्तीको कुरा जनप्रतिनिधिलाई भन्ने, बिरामी हुँदा अस्पताल जाने, सामाजिक छलफलमा सरिक हुने र आपूmहरुका लागि विभिन्न अवसरका लागि सम्बद्ध पक्षसँग चासो बढाउन थालेका छन् ।
यो जाति अतिरिक्त कमाउने, सञ्चय गर्ने, आफ्नो अधिकार खोज्ने वा कुनै गुनासो गर्नेमा पूरै बेखबर रहने जातिका रुपमा परिचित रहँदै आएको हो । अब यो समुदाय राजनीतिक प्रशिक्षण, सामाजिक सङ्घसंस्थाको लगातारको प्रयत्न र चासोले सार्वजनिक मञ्चमा देखिन थालेका बर्दिबास–१४ का वडाअध्यक्ष विजयकुमार महतो बताउछन् । “अब मुसहर बस्तीबाट बाटोघाटो, ढल, खानेपानी र अन्य समस्या लिएर मुसहर समुदायका अगुवा वडा कार्यालयमा बाक्लै आउनुहुन्छ”, वडाअध्यक्ष महतो भन्छन्, “उहाँहरुका समस्या तत्काल सम्बोधनको प्रयत्न पनि गरिन्छ ।”
पछिल्लो चरणमा रेडक्रससहितका विभिन्न सामाजिक सङ्घसंस्थाले नेतृत्व विकास, जीविकोपार्जन र खानेपानी एवम् सरसफाइका लागि यी समुदायलक्षित विशेष तालिम नै सञ्चालन गर्दै आएका छन् । आयआर्जनका विभिन्न सीपका तालिम र प्रारम्भिक चरणमा सीपसम्बन्धी आवश्यक सामग्री सहयोग पाएपछि मुसहर महिलाले काँसका डाली बुन्ने, सानो किराना पसल चलाउने र केही युवाले चनाचटपटे बनाएर बेच्ने गरेका तथा केहीले बाख्रापालन गर्न थालेका छन् ।
यो सहयोग सानो भए पनि मुसहरलाई वैकल्पिक रोजगारी खोज्न भने सहयोगी बनेको छ । रेडक्रससहितका संस्थाको सहयोगले अब भने हामी पनि यसै समाजका रहेछौँ भन्ने लाग्न थालेको लोहारपट्टिकै मुसहर समुदायका अगुवा शिव सदा बताउछन् ।
मालिकको खेतमा काम गरेबापत पाएको बनीले दुई छाक कसैगरी टार्नेबाहेक अरू ध्यान नभएका मुसहर अब भने नानीहरुको शिक्षा, बिरामी हुँदा अस्पताल जाने कुरा र के व्यवसाय गर्दा राम्रो होला भनेर सोच्न तथा आपसमा सल्लाह गर्न थालेका छन् । अब धेरैजसो मुसहर साबुनपानीले हात धुन थालेका छन् । पछिल्लो समयमा मुसहरहरुले आफ्नो बस्तीको विकास र सम्भावनाबारेसमेत चासो बढाउन थालेका लोहारपट्टि–६ का सामाजिक, राजनीतिक कार्यकर्ता चन्देश्वर मण्डल बताउछन् ।
सामाजिक सङ्घसंस्था, राजनीतिक दल, स्थानीय तह र अन्य सम्बद्ध तह निकायले थालेका निरन्तरको प्रयत्नले बिस्तारै मुसहर समुदायका बालबालिकाको विद्यालय भर्ना बढेको शिक्षा विकास समन्वय एकाइले जनाएको छ । रासस