काठमाडौं, २० साउन । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले वरिष्ठ नेता बनाउने वा नबनाउने पार्टी सभापति शेरबहादुर देउवाको मर्जी भएको बताएका छन् ।
‘पार्टी सभापतिले वरिष्ठ नेता नबनाउने भन्नुभएको छैन । बनाउने, नबनाउने उहाँकै मर्जी हो । उहाँको कुरा हो । उहाँको आफ्नै परिस्थिति होला । अहिले यो छलफलको विषय होइन । यसमा छलफल नगरौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता श्रेष्ठले पार्टीमा शेरबहादुर देउवापछि आफू नै वरिष्ठ नेता भएको औंल्याए । उनले थपे, ‘मेरो सपना पूरा हुने वा नहुने कुरै छैन । म आफैंमा वरिष्ठ हुँ । कसैले बनाउँदा हुने, नबनाउँदा नहुने पनि होइन । पार्टीका आम साथीहरुले हरेक बैठकमा यो कुरा राख्नुभएको छ । मलाई बनाउने कुरामा सबै पक्षका साथीहरुको सहमति छ । तर, वरिष्ठ नेताको चयन नेतृत्वले गर्ने हो । पार्टीको वरिष्ठ नेता तपाईं कि डा. शेखर कोइराला हो भन्ने पत्रकार धमलाको प्रशन्मा उनले भने, खोइ, कता कता पुग्छ, थाहा छैन ।’
श्रेष्ठले अरु पार्टी भ्रष्टाचारी जोगाउन लागे पनि आफ्नो पार्टी आफ्नो वा अर्को नभनीकन सहयोग गरिरहेको दाबी गरे । उनले भने, ‘साना माछा पक्रने, ठूला माछा छोड्नुभएन । बदमासी नगरेकालाई परिबन्दमा पार्नुहुँदैन । भ्रष्टाचारीलाई छोड्नु हुँदैन । सुन तस्करी प्रकरण उच्चस्तरीय छानबिन समिति गठन आवश्यकता अनुसार गर्नुपर्ने पनि बताए ।’
कांग्रेसले ग्रासरुटमा संगठन बलियो बनाउनका निम्ति ७५३ पालिकामा सेवा दल बनाउन लागेको पनि नेता श्रेष्ठले बताए । उनले भने, ‘अब हाम्रा साथीहरु ग्रासरुटमा संगठन पुर्याउन ७७ जिल्लामा जानुहुन्छ, १० दिन बसेर काम गर्नुहुन्छ ।’ साथै उनले महामन्त्री गगन थापालाई बहुमत जुटाएर संसदीय दलको नेता परिवर्तन गर्न चुनौती दिए । उनले भने, ‘सके गरे हुन्छ । बहुमत जुटाउन सके हामी पनि मानौंला । तर त्यत्रो बहुमत पाएको नेतालाई तुरुन्त हटाउँछु भन्नु मनको लड्डु घिउसँग खाएको जस्तो हो । यसका लागि मिराकल नै हुनुपर्छ ।’