Logo

माओवादी सचिवलाई प्रश्न— प्रचण्डपछिको नेता को ?



काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले संगठनात्मक सुदृढीकरण, शुद्दीकरण र विस्तारका लागि कार्यविभाजनका साथ पार्टीको केन्द्रीय समिति बैठक आज सकिने बताएका छन् ।
‘केही दिनदेखि जारी केन्द्रीय समितिको बैठक आज सकिन्छ । संगठनात्मक सुदृढीकरण, शुद्दीकरण र विस्तारका लागि सचिवालय र केन्द्रीय समितिको कार्यविभाजन हुन्छ । कार्यविभाजनको खाका र कार्ययोजना महत्त्वपूर्ण विषय छन् । हामी विधान सम्मेलनअघि तीन महिने अभियान लिएर जनतामाझ जान्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
माओवादीमा भुइँचालो जान लागेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले भने, ‘बाहिर जे आएको छ, त्यो बिलकुल सही होइन । पार्टीको बैठकले अन्तर्विरोधलाई जनवादी तरिकाले हल गरेको छ । खुलै रुपमा बोल्ने अवसर दिएको छ । हाम्रा दुश्मनले वर्षमान पुन र जनार्दन शर्मालाई नउचाले हुन्छ । बालुवा निकालेर तेल निस्किँदैन । माओवादी पार्टी कसैले धुप हालेर सकिँदैन ।’
पार्टीलाई जसको आवश्यकता छ, त्यो अगाडि आउने पनि शर्माले औंल्याए । उनले भने, ‘हामी विधि र प्रक्रियामार्फत विधान र विशेष महाधिवेशन गरेर जान्छौं । को बस्ने को नबस्ने, को रहने, को नरहने भन्ने कुरा तपसिलका हुन् । नेतृत्व खोजेर, बजारमा किनेर ल्याउने होइन । प्रचण्ड इतिहासले निर्माण गरेको नेतृत्व हो । सत्ता मागेर होइन इतिहासलाई रुपान्तरण गर्दै खोसेर लिने हो ।’
आफ्नो पार्टीमा पुष्पकमल दाहाल प्रचण्डजस्तै डायनामिक नेताहरु थुप्रै भएको पनि उनले बताए । शर्माले थपे, ‘मैले २०३८, २०४२, २०५२ र २०५७ को प्रचण्ड देखेको छु । २०६२ ६३ को प्रचण्ड चिनेको छु । पार्टीमा प्रचण्डजस्तै डायनामिक नेता अरु पनि छन् । उत्तराधिकारी त्यसरी नै तयार हुने हो । हामीले इतिहासलाई भुल्नु हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्