Logo

भुम्लुमा उत्कृष्ट विद्यार्थीलाई एक लाख सहित सम्मान



काभ्रे, २१ साउन । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण छात्रछात्रालाई जनही एक लाखद्वारा सम्मान गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा एसइई परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष दावा लामाले अरुणोदय माध्यमिक विद्यालय सिम्थलीका छात्रा सोनिया खड्का र प्रकाश मावि भुम्लुटारका सन्देश उपे्रतीलाई जनही रु एक लाखद्वारा संयुक्तरूपमा सम्मान गरेको थियो । यस्तै गाउँपालिकाभित्रका माध्यमिक विद्यालयतर्फ एसइई परीक्षामा औसत सर्वोत्कृष्ट अङ्क ल्याउने विषयगत नौ शिक्षकलाई पनि जनही  २५ हजारका दरले सम्मान गरिएको छ ।

कार्यक्रममा भुजेल र लामाले हाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा अध्ययनप्रति ऊर्जा एवं प्रोत्सहान प्रदान गर्न गाउँपालिकाले एसइईमा उत्कृष्ट छात्रछात्रालाई सम्मान गर्ने परम्पराको सुरुआत गरिएको बताए । गाउँपालिकाभित्र सर्वोत्कृष्ट छात्रा खड्काले तीन दशमलव २० र छात्र उप्रेतीले तीन दशमलव ५५ अङ्क प्राप्त गरेका थिए । गाउँपालिकाका दुई सय विद्यार्थीले २०७९ सालको एसइई परीक्षा दिएका थिए ।

यसैगरी जिल्लाको रोशी र तेमाल गाउँपालिकाले पालिकाभित्रबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेका छन् । रोशीमा गाउँपालिका अध्यक्ष दिनेश लामाले तीन जनालाई प्रोत्साहनस्वरुप  ५० हजारका दरले नगदसहित सम्मान गरेका छन् । तेमालको वडा नं २ मा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट नम्बर प्राप्त गरेका तीन विद्यार्थीलाई प्रोत्साहनस्वरुप जनही ५० हजार प्रदान गरिएको वडाध्यक्ष देव तामाङले बताए ।

यसअघि नेपाल विद्यार्थी सङ्घ काभ्रेले जिल्लामा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय उदयशम्शेर राणा र कुन्दनराज काफ्लेको उपस्थितिमा बनेपामा सम्मान गरेको थियो । सङ्घले निजी विद्यालयबाट तीन दशमलव ९५ जिपिए ल्याउने १२, सामुदायिक विद्यालयबाट तीन दशमलव ७५ जिपिए ल्याउने सामुदायिक विद्यालयका नौसहित विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने नौ सय ५० विद्यार्थीलाई सम्मान गरेको हो । रासस



प्रतिक्रिया दिनुहोस्