Logo

‘सामाजिक सेवामा लायन्स क्लबको योगदान अनुकरणीय छ’



जनकपुरधाम, २१ साउन । मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताएका छन् ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एफले शनिबार जनकपुरधाममा आयोजना गरेको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा उनले भने,‘‘राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पुर्याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकार र राजनीतिक दलका लागि समेत अनुकरणीय छ ।

नेपाली कांग्रेस मधेस प्रदेश समिति सभापति एवं संसदीय दलका नेतासमेत रहेका यादवले प्रदेश सरकार र आफू नेतृत्वको पार्टी संरचनामा पनि क्लबका असल अभ्यासको अनुशरण र सहकार्यका लागि पहल गर्ने बताए । “नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, बालगृहलगायतका क्षेत्रमा राम्रो काम गरिरहेको छ”, उनले भने, “अब मधेस प्रदेशमा स्थानीय र प्रदेश सरकार तथा मेरो पार्टीका संरचनाले पनि आवश्यक समन्वय एवं सहकार्य गर्ने विषयमा मेरो पहलकदमी रहने छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा मिलेर काम गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।”

त्यसअवसरमा लायन्स क्लब अफ जनकपुरका नवनिर्वाचित अध्यक्ष रमन साह र लायन्स क्लब अफ जनकपुर गार्गीका अध्यक्ष अञ्जना पण्डित नेतृत्वको समितिलाई जिम्मेवारी हस्तान्तरण, नयाँ सदस्यता लिएकाहरूको परिचय तथा शपथप्रहणलगायतका कार्यक्रम गरिएको थियो । नेपालमा सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा पहिलोपटक क्लबको स्थापना भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्