काठमाडौँ, २१ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति (रासस) बीच राससलाई प्रदान गरिने आर्थिक वर्ष २०८०/८१ को अनुदानतर्फको रकम निकासा दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सञ्चार मन्त्रालयबाट राससलाई प्रदान गरिने अनुदानतर्फको रकम निकासाका लागि आज मन्त्रालयमा आयोजितक एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
उक्त सम्झौतापत्रमा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा तथा मन्त्रालयका उपसचिव केशवराज सुवेदीले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारी र मन्त्रालयका शाखा अधिकृतहरु तीर्थराज चापागाई, महेश सुवेदी, मधुसुदन पुडासैनी र कम्प्युटर अपरेटर उषा घिसिङ उपस्थित थिए ।
पोखरास्थित राससको स्वमित्वमा रहेको जग्गामा नयाँ भवन निर्माण, श्रव्यदृश्य सेवा सञ्चालन, विभिन्न स्थानमा भवन मर्मतसम्भारका लागि निकासा दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयले राससलाई पोखरामा भवन निर्माणका लागि दुई करोड, श्रव्यदृश्य सेवा सञ्चालनका लागि एक करोड, सञ्चार उपकरण खरिदका लागि २० लाख र भवन मर्मतसम्भारका लागि १० लाख अनुदान रकम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले आर्थिक वर्षका लक्षित कार्यक्रम समयै पूरा गर्ने प्रतिबद्धता जनाए । उनले राससको सेवालाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउन उपलब्ध स्रोत साधन तथा जनशक्तिको भरपुर उपयोग गर्दै सबै संयन्त्रको प्रभावकारी परिचालन गरेर परिणाममुखी बनाइने बताए।
मन्त्रालयका उपसचिव सुवेदीले निर्धारित लक्षित कार्यक्रम समयमै प्रतिफल दिनेगरी काम गर्नसकेको खण्डमा सकारात्मक नतिजा हासिल हुने विश्वास व्यक्त गरे । रासस