Logo

आँखा अस्पतालमा बिरामीको भीड



चितवन, साउन २२ । आँखा पाक्ने संक्रमण फैलिएपछि चितवनको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ ।

चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको अस्पताल अन्तर्गतका अस्पताल र केन्द्रमा आइतवार २ हजार ३५७ जनाले सेवा लिएका थिए । अस्पतालका वरिष्ठ प्रशासक दयाशंकर चौधरीका अनुसार अन्य समयमा १ हजार २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दथे ।

अस्पताल आएकामध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेका छन् । आइतवार भरतपुरमा रहेको मुख्य अस्पतालमा ९७३, सेकेण्डरी आँखा अस्पताल ठोरीमा ६६, कावासोतीमा १९३ र सिम्रनगढमा १०२ जनाले उपचार लिएका छन् ।

अस्पतालमा आवद्ध १४ आँखा उपचार केन्द्र छन् । तीमध्ये चिकुमार–विष्णुकुमारी बहिरङ्ग सेवा भरतपुर उकालोमा २३८, पर्सामा १६३ , रत्ननगरमा १२८, माडीमा ९६, चनौलीमा ६५, राप्तीमा ६१ र कुरिनटारमा २५ जनाले सेवा लिएका छन् ।

धादिङको बेनिघाटमा १६, सल्यानटारमा १३, नवलपरासीको मध्यविन्दुमा ४४, हुप्सेकोटमाम ४०, सिन्धुलीको दुधौलीमा १७, तनहुँको आँबु खैरहनीमा ६३ र सर्लाहीमा ५५ जनाले सेवा लिएका वरिष्ठ प्रशासक चौधरीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot