Logo

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी



काठमाडौँ, २४ साउन । सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरु हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

सूर्यविनायक–रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागले काम गर्ने र त्यो सकिएपछि नै यातायात व्यवस्था विभाग तथा अरू निकायको काम हुने यातायात विभागका प्रवक्ता ईश्वरदत्त पनेरुले जानकारी दिए ।  सडक विभागले त्यसका लागि आवश्यक खण्ड सडक छुट्याएर ‘रोड मार्किङ’ गर्ने उनले बताए । उनले भने, “सडकको काम सकिएपछि अरू निकायको काममा समय धेरै लाग्दैन ।”

सडक विभागले गर्ने काम सकिएपछि अरू निकाय तयारी अवस्थामा रहेको उनले बताए । यातायात व्यवसायीले सवारी साधन उपलब्ध गराउन तयारी अवस्थामा रहेको र ट्राफिक प्रहरीले आफूले गर्ने काम गर्ने उनको भनाइ छ । उनले भने, “सबैभन्दा पहिले सडकको काम नै हुनुप¥यो, त्यो सकिएपछि बैठक राखेर कार्यान्वयन कहिलेदेखि गर्ने भनी निर्णय हुनेछ ।”

अहिलेको अवस्था हेर्दा असोज १ गतेदखि नै सुरु गर्ने सम्भावना कम रहेको प्रवक्ता पनेरुले जानकारी दिए । वर्षाको समय भएकाले सडक विभागले काम गर्न केही समस्या भएको छ । पार्किङका लागि अध्ययन पहिले नै भइसकेर बनाउन वर्षाका कारण नसकिएको उनले बताए ।

असोज भित्रै गरिने भए पनि पहिले लक्ष्य लिइएकोभन्दा आठ–१० दिन तलमाथि हुनसक्ने उनको भनाइ छ । कुन मितिबाट बस सुरु हुन्छ भन्ने कुरा सडक विभागको काममा निर्भर रहेको छ । यातायात व्यवस्था विभागले समन्वय, सहकार्य र नियमनको काम गर्ने उनको भनाइ छ । दुर्तमार्गका लागि सडकको दुवैतर्फको लेन छुट्याइने गरी तयारी गरिएको उनले बताए ।

काठमाडौँ उपत्यकामा अत्यधिक सवारी साधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालय आफैँले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको जनाएको छ । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको हो । आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिने विभागले जनाएको छ ।

मन्त्रालयले राम्रो अवस्था र क्षमताका निजी कम्पनीका बस छनोट गरी दु्रत बस सेवा सुरु गर्न लागेको हो । तत्कालका लागि द्रुत बस सेवा सवारीसानधको चाप बढी हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको  छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot