Logo

‘बाइडेनले छिट्टै भियतनाम भ्रमण गर्ने’



वासिङ्टन, २४ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनामको हनोईसँगको सम्बन्ध सुधारगर्ने प्रयासअन्तर्गत आफू छिट्टै भियतनाम जाने बताएका छन् ।

न्यू मेक्सिकोमा एक सम्बोधनमा बाइडेनले भने, “म चाँडै नै भियतनाम जाँदैछु । भियतनाम हाम्रो सम्बन्ध परिवर्तन गर्न र साझेदार बन्न चाहन्छ ।”

“हामी आफैलाई गतिशीलता परिवर्तन गर्ने यस्तो स्थितिमा पाउँछौं, जहाँ (संसारभरि) यी सबै परिवर्तनहरू एक मौका र समयमा भइरहेको छ,” उनले भने ।

संयुक्त राज्य अमेरिका र भियतनामबीच घनिष्ठ व्यापारिक सम्बन्ध रहेको छ भने दुवै देशले यस क्षेत्रमा चीनको बढ्दो शक्तिप्रति चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण चीन सागरमा चीनको व्यापक सामुद्रिक दाबीलाई लिएर बेइजिङ र दक्षिणपूर्वी एसियाली राष्ट्रहरू, विशेष गरी भियतनाम र फिलिपिन्सबीच वर्षौंदेखि द्वन्द्व बढ्दै गएको छ ।

गत अप्रिलमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन जापानमा भएको जी–सेभेनका विदेशमन्त्रीहरूको बैठकमा भाग लिन जाने क्रममा हनोईको भ्रमण गरेको वेला वासिङ्टन र हनोईले कूटनीतिक सम्बन्ध सुधारगर्ने प्रतिबद्धता जनाएका थिए ।

भियतनामी नेताहरूसँगको भ्रमणका क्रममा ब्लिन्केनले भनका थिए, “हाम्रो वर्तमान साझेदारीलाई अझ बलियो बनाउने यो शुभ समय हो भन्ने हामीलाई लाग्छ ।”

“हामीसँग विगत १० वर्षदेखि यो व्यापक साझेदारी छ जसले धेरै विभिन्न क्षेत्रहरूमा सहयोगको अविश्वसनीय रूपमा बलियो जग सिर्जना गरेको छ । फलस्वरूप, यो अझ अगाडि बढ्नको लागि राम्रो क्षण हो भन्ने हामी (अमेरिका)लाई लाग्छ ।

ब्लिन्केन हनोईमा नयाँ अमेरिकी दूतावासको शिलान्यास समारोहमा पनि सहभागी भएका थिए ।

गत मार्चमा बाइडेनले भियतनामको सत्तारूढ कम्युनिस्ट पार्टीका प्रमुख गुयेन फु ट्रोङसँग कुराकानी गरेका थिए ।

यद्यपि, वासिङ्टनले भियतनामको मानव अधिकारको चिन्तालाई लिएर आपत्ति जनाएको छ । “भियतनामी जनताको पूर्ण क्षमतालाई उजागर गर्न मानव अधिकारमा भविष्यको प्रगति कसरी आवश्यक छ भन्ने कुरामा जोड दिनु जरूरी छ,” ब्लिन्केनले भने ।

चीन र भियतनामबीचको लामो समयदेखिको तनावको केन्द्र दक्षिण चीन सागरलाई सजिलै अत्यन्तै खतरनाक हुनसक्ने ठाउँको रूपमा हेरिन्छ । गलत अनुमान वा दुर्घटनाले सैन्य द्वन्द्व लाई उर्जा दिनसक्छ भन्ने धेरैलाई डर छ ।

विश्लेषकहरूका अनुसार दक्षिण चीन सागरमा प्रतिद्वन्द्वीको दाबीका बावजुद महत्वपूर्ण आर्थिक साझेदार बेइजिङलाई चिढ्याउने गरी वासिङ्टनसँग सम्बन्ध सुधा गर्न हनोई बढी अनिच्छुक पनि हुन सक्छ ।

अमेरिकाको पानीमाथि कुनै क्षेत्रीय दाबी छैन, तर उसले बेइजिङलाई क्रोधित पार्दै त्यहाँ गस्ती गरिरहेको छ ।

वासिङ्टनले समुद्रमा ‘नेभिगेसनको स्वतन्त्रता’, जसबाट वार्षिक खरबौं डलरको व्यापार हुन्छ, सुनिश्चित गर्न यस्तो कदम चालेको बताएको छ ।

संयुक्त राज्य अमेरिकाले हालैका महिनाहरूमा चीनसँग सम्बन्ध सुधार गर्ने प्रयास पनि गरेको छ । यसै क्रममा ब्लिन्केनले जूनमा चीन भ्रमण गरेका थिए। यद्यपि, सन् २०२३ को सुरूमा एक कथित चिनियाँ जासूसी बेलुनलाई अमेरिकी युद्धक विमानले गोली हानेर खसालेपछि ब्लिन्केनको अङ्ग्रेजी बर्षको प्ररम्भमा तय भइसकेको भ्रमण रद्द भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्