Logo

‘एमालेले सदनमा प्रचण्डकी जय भनिदिनुपर्ने ?’



काठमाडौं, २५ साउन । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षले नै संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् ।
‘एमालेले बन्धक बनाएको हो संसद् ? सरकारले नै संसद् खोल्न नखोजेको होइन ? हामीले सुन तस्करीमा उच्चस्तरीय छानबिन समितिको माग गर्दा सरकार किन तयार भएन ? यति ठूलो सुन तस्करीमा सरकारका उच्चपदस्थ अधिकारी र मन्त्रीहरुको नेतृत्वको संलग्नता र संरक्षणको गन्ध आइरहेको छ । यो सरकारका अंगबीच नै मोलमोलाइ नमिलेर समाइएको होइन ? नेकपा एमाले सदनमा गएर चुप लागेर बस्नुपर्ने, प्रचण्डकी जय भनिदिनुपर्ने, सरकारका गतिविधि जिन्दावाद भनिदिनुपर्ने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सत्तापक्षले नै संसद्लाई भिडन्त र द्वन्द्वमा लैजान चाहेको आरोप पनि बर्तौलाले लगाए । उनले भने, ‘सभामुखले दिएको समयमा हामीले बोल्न लाग्दा सत्तापक्ष भिडन्त र द्वन्द्वमा जान चाह्यो । सत्तापक्षले दादागिरी देखायो ।  प्रतिपक्षले आफ्ना कुरा उठाउन पाउँदैन ? यो जनताको र देशको एजेन्डा होइन ? के यो भुटानी, पाकिस्तानीको एजेन्डा हो ?’ सरकार प्रतिपक्षलाई गलाउने, गिराउने अनि फुाउने धन्दामा रहेको आरोप पनि उनले लगाए । उच्चस्तरीय छानबिन समिति बनाउँछु भनेर प्रतिबद्धता आउनेबित्तिकै ३० सेकेन्डमै संसद खुल्ने दाबी पनि सचेतक बर्तौलाको छ ।



प्रतिक्रिया दिनुहोस्