Logo

कांग्रेस सांसदलाई प्रश्न— शेरबहादुर देउवाको उत्तराधिकारी शेखर कोइराला नै हो ?



काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले प्रमुख प्रतिपक्ष नेकपा एमालेमाथि संसद्लाई निरन्तर बन्धक बनाएर जनतालाई अन्याय गरिरहेको आरोप लगाएका छन् ।
‘प्रमुख प्रतिपक्षले सुन तस्करीलाई लिएर फेरि संसद् अवरोध गरेको छ । यसले प्रतिपक्षलाई पनि राम्रो गर्दैन र सरकारलाई पनि राम्रो गर्दैन । जनतालाई नै अन्याय गर्छ । संसद् भनेको जनप्रतिनिधिको थलो हो । प्रतिपक्ष र सत्तापक्षमा बस्ने सबै सांसदहरु जनप्रतिनिधि हुन् नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सांसद खड्काले सुन तस्करी छानबिनको ठेक्का प्रतिपक्षले मात्र लिन नमिल्ने पनि औंल्याए । उनले भने, ‘खालि बटमलाइन, बटमलाइन भनिरहनुभएको छ । सुन तस्करी छानबिनको ठेक्का प्रतिपक्षले मा लिने विषय हो र ? यो सत्तापक्ष र प्रतिपक्ष सबैको साझा कुरा हो नि । कर्मचारी, प्रहरी प्रशासनको काम पनि सांसदले गर्ने हो र ? यो विषय देखाएर अरु काम गर्न खोजेको हो कि ? लहरो तान्दा पहरो थर्केको हो कि ?’ साथै उनले राज्यका संयन्त्रले गरेका काम चित्तबुझ्दो नभए मात्र उच्तस्तरीय छानबिन समिति बनाउन सकिने बताए ।
पार्टीका नेताहरुले नेतृत्वको आकांक्षा राख्नु स्वाभाविक भए पनि त्यसका निम्ति अर्को महाधिवेशनसम्म धैर्य राख्न सक्नुपर्ने बताए । उनले भने, ‘पार्टीको नेतृत्व गर्ने चाहना राख्नु स्वाभाविक प्रक्रिया हो । तर त्यसका निम्ति महाधिवेशनसम्म पर्खनुपर् यो नि । सुशील कोइरालापछि शेरबहादुर देउवा सभापति हुनुभयो । त्यसपछि अरु कोही हुन सकिहाल्छ नि । इच्छा चाहना राख्ने विषय ठीकै हो । तर त्यसका निम्ति समय भएको छैन । अहिले त्यो विषय नै छैन ।’
शेखर कोइराला शेरबहादुर देउवाको उत्तराधिकारी बन्न सक्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा सांसद खड्काले भने, ‘शेरबहादुर देउवाको उत्तराधिकारी गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, शशांक कोइराला हो कि शेखर कोइराल हो भन्ने कुरा महाधिवेशन नआईकन भन्न सकिँदैन । अहिले नै अनुमान गरेर भन्नुको तुक छैन ।’
गौर घटनालाई कहिले राजनीतिक मुद्दा भन्ने कहिले हत्याकाण्ड भनेर मुलुकलाई अस्थिरतातिर धकेल्न लागिएको हो कि न्याय दिन लागिएको हो भनेर पनि उनले प्रश्न गरे । तत्काल सरकार ढलिहाल्ने अवस्था नआउने पनि खड्काले बताए । संखुवासभाको बाढीपहिरोपीडितलाई क्षतिपूर्ति दिने र पक्की पुल बगाएपछि बेलिब्रिज राख्ने कुरामा ढिलाइ भइरहेको पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्