Logo

गौर हत्याकाण्ड जसपाको निर्देशनमा होइन प्रभु शाहको उक्साहटमा भएको हो : प्रदीप यादव



काठमाडौं, २६ साउन । गौर हत्याकाण्ड पीडित संघर्ष समितिको नाममा गृह मन्त्रालयको एकतर्फी सहमति जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई फसाउने षड्यन्त्र भएको आरोप पार्टी नेता एवं सांसद प्रदीप यादवले लगाएका छन् ।
‘गृह मन्त्रालयले गौर हत्यााकाण्ड पीडित संघर्ष समितिको नाममा एकतर्फी रुपमा जुन नाटकीय ढंगले सहमति गरेको छ, त्यसलाई जसपाले सामान्य रुपमा लिएको छैन, निकै गम्भीरतापूर्वक लिएको छ । यो पार्टी नेतृत्वलाई फसाउने र जसपालाई घेराबन्दी गर्ने षड्यन्त्र हो । हामी यसको डटेर प्रतिवाद गर्छौं, चुप लागेर बस्दैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
पूर्वमन्त्री समेत रहेका यादवले जसपाले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने पनि बताए । पत्रकार सम्मेलन गरेर सरकार छाड्न लाग्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘अहिले नै सरकार छोड्ने कुरा छैन । । सरकारबाट फिर्ता हुने कुरा पनि छैन । तर सरकारमा रहेका मन्त्रीले गल्ती गर्दा हामीले जनतालाई खुला रुपमा भन्न सक्छौं । यो गल्ती हो । अहिले गौरकाण्डको छानबिन गर्ने हो भने जनयुद्धको किन छानबिन नगर्ने ? त्यसमा मारिएका हजारौं जनता नेपाली नागरिक होइनन् ? १७ वर्ष पुरानो काण्डको नयाँ छानबिन के जरुरी छ ?’

गृह मन्त्रालयले गरेको सहमतिप्रति जसपा नडराएको र धम्की नदिएको पनि उनले बताए । उनले भने, ‘गौरकाण्ड जसपाको निर्देशनमा भएको होइन । यो प्रभु शाहको कारणले घटना भएको हो । उनी माओवादीको रौतहट इन्चार्ज थिए । उनकै उक्साहटमा घटना भएको हो ।’
गौर हत्याकाण्ड किन भयो भन्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई थाहा भएको पनि यादवले दाबी गरे । उनले भने, ‘तत्कालीन मधेसी जनअधिकार फोरमले गौरको राइस मिलमा आमसभा गर्न भनेर आठ-नौ दिन अगाडि नै जिल्ला प्रशासन कार्यालयको इजाजत लिएको थियो । तर माओवादीले त्यसको दुई दिन अगाडि आएर आफ्नो कार्यक्रम त्यहीँ गर्छु भनेर निहुँ खोज्यो । हाम्रो कार्यक्रम भएको दिनमा बझाङ, सिन्धुली, मकवानपुर, बाजुरा, रौतहट आदि जिल्लाबाट वाईसीएल उतारेर सहरमा मार्च गर् यो । कार्यक्रम भइहेको ठाउँमा आएर मञ्च जलायो, हाम्रा कार्यकर्तालाई लखेट्यो, बन्दुकको कुन्दाले हान्यो, दाँत भाँच्दियो । बम प्रहार गर् यो ।’
द्वन्द्वकालमा माओवादीले गरेका ज्यादती, लुटपाट, हत्या, फिरौती, आतंकका कारण आजित भएका गौरबासी आक्रोशित भएर प्रतिवादमा उत्रेको पनि यादवको भनाइ छ । उनले भने, ‘तत्कालीन मधेसी जनअधिकार फोरम र अहिलेको जसपाले कहिले पनि हिंसाको राजनीति गरेको छैन । सदैव शान्तिपूर्ण आन्दोलन गरेको हो । पुनरावदेन अदालत पाटनका न्यायाधीश हरिप्रसाद घिमिरेको नेतृत्वमा बनेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन अहिलेसम्म सरकारले किन सार्वजनिक गरेन ?’ तत्कालीन अनमिन र मानवअधिकारको रिपोर्टमा पनि माओवादीकै दोष देखाइएको उनले बताए । यादवले भने, ‘माओवादी सरकारमा भएका बेला त्यो प्रतिवदेन सार्वजनिक गरेन ? माओवादीको आन्तरिक छानबिनले को दोषी भन्ने बताएको छैन र ? गृह मन्त्रालयका सहसचिव ठूलो हो कि बहालवाला न्यायाधीश ठूलो ?’
अर्को प्रसंगमा उनले सांसद सुनिल शर्मा पक्राउ प्रकरण षडयन्त्र भएको र नेकपा एमालेले संसद अवरोध गरेर जनताको अपमान गरेको आरोप पनि लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot