Logo

दोस्रो कान्छा गाउँपालिका अध्यक्षले बनाए पार्टी–पालिका, वडा कार्यालयको सेवा टोलटोलमा



काठमाडौं, २६ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी देशकै दोस्रो कान्छा गाउँपालिका अध्यक्ष हुन् । जम्मा २६ वर्षका चौधरी गत स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पालिका अध्यक्षमा एक्लो निर्वाचित भएका थिए । उमेरमा कच्चा भए पनि उनले देशमै नयाँ अभ्यास गरेका छन्, पार्टी–पालिका ।
गाउँपालिकामा निर्वाचित सबै पार्टीका जनप्रतिनिधि रहेको पार्टी-पालिका गठन गरेपछि पालिकाका सबै निर्णय सर्वसम्मत हुन थालेका छन् । ‘फरक फरक पार्टीबाट निर्वाचित भए पनि पालिकाको काममा सबैको पर्याप्त सहयोग र समर्थन पाएको छु । पार्टी पालिका गठन गरेपछि कसैले अविश्वास र असहयोग गरेको छैन । सबैको प्राथमिकता पालिका नै भएको हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी, उपाध्यक्षमा माओवादी केन्द्र, वडा नम्वर १ मा  माओवादी केन्द्र, वडा नम्वर २ मा जनमत पार्टी, वडा नम्बर ३ मा जसपा, वडा नम्बर ४ मा एकीकृत समाजवादी, वडा नम्बर ५ मा एमाले, वडा नम्वर ६ मा माओवादी केन्द्र र वडा नम्वर ७ मा एमालेका अध्यक्ष निर्वाचित भएका छन् ।

अध्यक्ष चौधरीले गाउँपालिकाको सेवा प्रवाह प्रभावकारी बनाउनका लागि वडाको सेवा टोलटोलमा लैजान थालिएको पनि बताए । उनले भने, ‘पछाडि पारिएको समुदायका व्यक्तिहरु वडा तथा पालिकाको कार्यालयमा आएर सेवा लिने क्रममा बोल्न वा काम गर्न हिचकिचाउँछन् । त्यसैले टोलटोलमा सेवा दिँदा उनीहरुमा आत्मविश्वास बढेको छ ।’ नागरिकले आफ्नै टोलटोलमा नागरिकताका लागि आवश्यक सहयोगदेखि भत्ता कार्डको नवीकरण, जन्मदर्ता, विवाहदर्ता लगायतका दर्जनौं सेवा पाउँदै आएका छन् ।

सबैभन्दा कम उमेरका पालिका अध्यक्षको पहिलो नम्बरमा भने पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कुमार रहेका छन् । २१ वर्षका वशिष्ठ गत वर्ष भएको स्थानीय तह सदस्य निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका तर्फबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot