Logo

माओवादीसँग कांग्रेसको टसल, देउवाको ध्यान अब ‘च्यासल’



काठमाडौं, २६ साउन । सत्ता गठबन्धनमा मतभेद सुरू भएको छ । खासगरी सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच टसल सुरु भएको छ । खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले एकपछि अर्को गरेर आफ्ना पार्टीका नेताहरुलाई जेलमा हालेको भन्दै कांग्रेस नेतृत्व रुष्ट बनेको हो । यो विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहालसँग पटक–पटक भेटेरै असन्तुष्टि राखिसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणदेखि ललिता निवास प्रकरणसम्म बालकृष्ण खाँण (पक्राउ) देखि नेता विजय गच्छदार (पक्राउ पुर्जी जारी) सम्मलाई निशाना बनाईएको देउवाको गुनासो रहेको छ । हिजोमात्रै कांग्रेसकै सांसद सुनिल शर्मा पक्राउ परे । उनी नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका हुन् । सिआईबीले हिजो (बिहीबार) शर्मालाई उनकै निवासबाट पक्राउ गरेको हो । हाल उनलाई सिआईबीको लाजिम्पाटमा रहेको भाडा घरमा राखिएको छ ।

सरकारको मुख्य घटक आफूहरु रहेको अनि माओवादीबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले छानी छानी कांग्रेसकै नेताहरुमाथि प्रहार गरेको भनेर देउवा पक्षधर नेताहरुले गुनासो गर्न थालेका छन् । देउवाले कांग्रेसकै नेताहरुलाई पक्राउ गरेर के गर्न खोजेको भनेर प्रचण्डसमक्ष प्रश्नसमेत गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा त बालकृष्ण खाँणमात्रै नभएर देउवा पत्नी आरजुलाई समेत थुन्ने षड्यन्त्र गरेको भन्ने कांग्रेस नेताहरुको निश्कर्ष छ ।

सुन तस्करी प्रकरणमा माओवादीका हाई–प्रोफाईल नेताहरुको संलग्नता भनेर समाचार आउँदापनि कोही नसमातिएको तर कांग्रेसका नेताहरुलाई बिना संलग्नता पनि प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै कांग्रेस नेताहरु रुष्ट बनेका छन् । सत्ता गठबन्धनकै अर्को मुख्य घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फसाउनको लागि माओवादीले गौर हत्याकाण्डका पीडितसँग सहमति गरेको पनि अर्को चर्चा चलिरहेको छ ।

यो बीचमा उपेन्द्र यादवले देउवासँग भेटेर आफ्नो गुनासो राखेको र आवश्यक परे सरकारबाट बाहिरिने उनको चेतावनी छ । उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने कसरत गरिरहेको छ । यस्तोमा देउवाले माओवादीसँगको सम्बन्ध टुटाएर एमालेसँग सहकार्य गर्नसक्ने पनि आँकलन भैरहेको छ । कांग्रेसनिकट उच्च स्रोतले भन्यो–‘माओवादीसँगको टसलकै कारण सभापतिजीको ध्यान अब च्यासल (एमाले मुख्यालय) तिर गएको छ । हेरौं एक÷दुई साताभित्र राजनीतिमा केही फेरबदल आउँछ कि ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot