Logo

सरकारले युवा नीति परिमार्जनको काम अघि बढाएको छ : मन्त्री लिम्बू



काठमाडौँ, २६ साउन । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज माइतीघरदेखि सुरु भएको युवा पदयात्रा कार्यक्रममा सहभागी हुँदै उनले सरकारले युवा नीतिलाई परिमार्जन गर्ने बताए । “राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको छ”, उनले भने ।

मन्त्री लिम्बूले युवालाई कसरी बढीभन्दा बढी स्थान र भूमिका दिने भन्नेबारेमा नीति तयार भइरहेको बताए । उनले नीतिमा आवश्यक पर्ने सुझाव दिनका लागि युवालाई आग्रहसमेत गरे । खेलकुदमन्त्री लिम्बूले युवालाई देशको नेतृत्व गर्नका लागि तयार हुन आह्वान गर्दै आफूलाई समयानकुल परिवर्तन गर्ने, सबैलाई एकत्रित बनाई देश विकास तथा देश निर्माणको सङ्कल्पमा युवा लाग्नुपर्ने बताए । मुलुकमा परिवर्तन, विकास, रोजगारी सिर्जना समयमा नै हुन नसकेको उनको भनाइ थियो ।

मन्त्री लिम्बूले देश विकासका लागि साझा धारणा बनाएर अघि बढ्न आवश्यक रहेको भन्दै दिगो विकास लक्ष्य प्राप्तिका निमित्त जस्तोसुकै कठिन परिस्थितमा पनि मिलेर अघि बढ्न जरुरी रहेको बताए । ‘कौशल युवा, दिगो विकासका लागि’ भन्ने मूल नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्