Logo

तीन दिन लगातार वर्षाको सम्भावना, आज कहाँ-कहाँ वर्षा?



काठमाडौं, साउन २७ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेकोले आगामी केही दिन देशका धेरै स्थानहरुमा अत्याधिक वर्षाको सम्भावना रहेका जनाएको छ ।

महाशाखाले आकस्मिक बुलेटिन जारी गर्दै नेपालको मौसममा विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको बताएको छ ।

आज रातीदेखी सोमवारसम्म देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ । भारी वर्षासँगै देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, सहरी क्षेत्रहरूमा डुवानको जोखिम रहेको छ भने ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने महाशाखाले बुलेटिन मार्फत् जनाएको छ ।

केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन तथा सडक/हवाई यातायातसमेत प्रभावित हुन सक्नेतर्फ सचेत रहन र पूर्वसतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

अहिले गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot