Logo

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण सुनिल शर्मालाई पक्राउ गरियो: राजेन्द्र लिङदेन



काठमाडौं,२७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई एकदिन पक्रिने र अर्कोदिन छोड्ने विषय आपत्तिजनक भएको बताएका छन ।

शनिवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्व उपप्रधान तथा उर्जामन्त्रीसमेत रहेका लिङदेनले सरकारमा रहेका मन्त्रीको राजीनामा मागेकै कारण पहिले नै अनुसन्धान सकिसकेको विषय खोतलेर सत्तापक्षकै सांसद पक्राउ पर्नु निन्दनिय रहेको बताए ।

उनले भने,‘डा.सुनिल शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो । अहिले नै किन कार्यान्वयन गरियो ? यति नै बैला,सुनिल शर्माले सत्ता पक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरु र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै मन्त्रीहरुमाथि औंला उठाउनु भयो । र फेरि समातेर किन फेरि छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो,त्यो बारेमा अब यो छलफलको विषय हुँदैछ, ।’

लिङदेनले आफ्नो पार्टीले अहिले सत्तालाई कुनैपनि प्राथमिकतामा नराखेको प्रष्ट पारेका छन् ।

गत साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणलाई लिएर सदनमा गृह र अर्थमन्त्रीको राजीनामा मागेका कांग्रेस सांसद शर्मा गत बिहीबार शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा पक्रउ परेका थिए । मन्त्रीको राजीनामा माग्ने सांसदलाई चानक पक्राउ गरिएको भन्दै सत्तापक्ष भन्दापनि प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले आपत्ति जनाउँदै आएका छन् । शुक्रबारको संसद बैठकमा एमाले सांसद ज्वालाकुमारी साहलेपनि सुनिल शर्मालाई तत्काल रिहा गर्न माग गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्