Logo

ढुङ्गाले लागेर घाइते भएका प्रहरी जवान नेपालीको मृत्यु



मकवानपुर, २७ साउन । मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो ।

मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरासँगै खसेको ढुङ्गाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

“बिहीबार भैँसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उनी चिप्लिएर घाइते भएका थिए ”, उनले भने, “हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुङ्गा लागेर नेपाली पुनःघाइते भएपछि घटनास्थलबाटै अस्पताल पु¥याइएको थियो ।” नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते भएकामा उनको भने अवस्था सामान्य रहेको कार्कीले बताए ।

मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका–८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनको शव आज परिवारलाई जिम्मा लगाइ जाजरकोट पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot