Logo

गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री शिक्षा ऐन आउनुपर्छ : देवेन्द्र पौडेल



काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारले ल्याउन लागेको शिक्षा ऐनले सबैलाई समेट्नुपर्नेमा जोड दिए । उनले भने,‘विद्येयक औपचारिक रूपमा हामीले प्राप्त गरेका छैनौं । तर, विद्येयकका मस्यौदा हेर्यौं । हुन त नेपालमा अगाडिपट्टी छाप लगाएको र सही गरेको भित्रपनि कतिपय कुरा घुसाउने परिपाटी छ । एउटा पानो घुसाएर स्वार्थ हाल्ने कुरा, यसप्रकारका प्रचलन दृश्य र अदृश्य रूपमा हुने गरेको छ ।’

रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले सरकारले सरोकारवालाको विषय सरकारले गम्भीरतापूर्वक सुन्नुपर्नेमा जोड दिए । उनले आफूले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई शिक्षा विद्येयकको बारेमा सरोकारवालासँग छलफल गर्न सुझाएको स्मरण गराए । उनले भने,‘तर, मुख्य रुपमा यसको ओनरसिप लिएर शिक्षा मन्त्रालयले पहल गर्नुपर्छ । म सबै सरोकारवाला साथीहरुलाई सचेत हुन र चनाखो हुनु अनुरोध गर्दछु ।’

नेपालमा शिक्षाको कुरा गर्दा पालिका महासंघले एक थोक भन्ने गरेको र शिक्षक महासंघले अर्को थोक भन्ने गरेको, अनि निजी क्षेत्रका व्यक्तिहरुले पनि आफ्नो कुरा राख्ने गरेको स्मरण गराउँदै पौडेलले भने–‘यी सबैका सरोकारका कुरा हो । तर, हामीले मूल रुपमा विद्यार्थीलाई खुशी बनाउने ऐन बनाउने हो । नेपालमा ३२ देखि ३३ प्रतिशत विद्यालय निजीले नेतृत्व गरेको छ । उहाँहरुको पनि कुरा सुन्नुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता पौडेलले नेपालको संविधान–०७२ ले १२ कक्षासम्म निःशुल्क शिक्षा दिने व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनको लागि सबै गम्भीर हुनुपर्नेमा जोड दिए । उनले भने,‘यो त हामीले संविधानमा नै व्यवस्था गरेको विषय हो । त्यो कहिले र कसरी ग्रहण गर्ने भन्ने कुरा छ, त्यो कार्यान्वयन गर्न आवश्यक छ । हाम्रो शिक्षण संस्थालाई त्यतातिर लैजानुपर्छ । दिगो विकासका लक्ष्यको पनि कुरा छ, शिक्षालाई अब कसरी लैजाने भन्ने कुरापनि ऐनमा राख्नुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध र नेपाल पक्ष भएको कुरा पनि छ, सबैको कुरा पनि सुन्नुपर्छ । हाम्रो देशको अनुकुलतामा प्रयोग गर्नुपर्छ ।’

निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लैजाने भन्ने कुरामा आफ्नो समर्थन नरहेको उनको भनाई छ । उनले भने,‘निजीलाई नियमन गर्न जायज छ । मदर्सा, गुरुकुल, गुम्बाजस्ता विद्यालय छन्, त्यहाँ सम्बन्धित स्विकृत कोर्स छ । आञ्चालिक आधारमा प्रोत्साहन गर्नुपर्छ । निजी गुठी हो भने उसले बैंकिङ कारोबार गर्न पाउनुपर्यो । सबैको लक्ष्य भनेको कानूनी सुधार हो । सबैको क्षेत्राधिकार तोकिनुपर्छ । शिक्षण सिकाईमा पनि सुधार गर्नुपर्छ । अहिले ऐनमा छुटेका कुरा ल्याउन पहल गर्नुपर्छ ।’ उनले गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री ऐन आउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot