Logo

जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न बृहत्त वृक्षारोपण आवश्यक छ : मन्त्री डा. महतो



“मानव अस्तित्व रक्षामा वनको भूमिका महत्वपूर्ण छ”
काठमाडौं, २८ साउन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले नेपालमा पछिल्ला वर्षहरुमा वृक्षारोपणको महत्व बढिरहेको भन्दै खुशी व्यक्त गरे । जलवायु परिवर्तन (क्लाइमेट चेन्ज) को समस्या न्यूनीकरणको लागि पनि वृक्षारोपणले ठूलो भूमिका खलेको बताउँदै सबैले आफ्नो जीवनको विशेष दिनमा वृक्षारोपण गर्ने अभियान थाल्नुपर्ने उनको भनाई छ ।

आज (शनिबार) विश्व अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी युवा संघ नेपालले आयोजना गरेको बृहत्त वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वृक्षारोपणसँगै यसको संरक्षणमा पनि अभियानकै रुपमा काम गर्नुपर्ने बताए । मन्त्री महतोले अहिलेको मौसम पनि वृक्षारोपण गर्ने उपयुक्त समय भएकोले विरुवा हुर्कन सहज रहेको बताए ।

मानिसको अस्तित्व पनि वनको एक्जिस्टेन्समा निर्भर रहेको उल्लेख गर्दै मन्त्री महतोले पृथ्वीमा जीवनका लागि आवश्यक सबै हावा, पानी, खाना र आश्रयहरु वनबाट नै प्राप्त हुने गरेकोले वनको महत्व मावन जीवनको लागि धेरै नै रहेको स्पष्ट पारे ।

उनले वनलाई अब मुलुकको समृद्धिसँग पनि जोडेर अघि बढ्ने बेला आएको बताए । नेपालको भूभागको करिब ४५ प्रतिशत वनले ओगटेको भन्दै अब वनलाई समृद्धिको आधार बनाईनेगरि योजनाका साथ काम गरिने पनि विश्वास दिलाए ।

उनले काठ उद्योग, कागज उद्योग, पर्यटन उद्योग लगायतका उद्योगहरू वनमा निर्भर भएकाले अब वनलाई मुलुकको प्रत्यक्ष समृद्धिसँग जोडेर लैजानुपर्नेमा आफूले सोचेको र विशेष योजना बनाएर काम अघि बढाईने विश्वास दिलाए ।

नेपालजस्तो कृषिप्रधान देशमा त वनको धेरै नै महत्व रहेको उनको तर्क छ । वनले नै माटोको स्थिरताको अस्तित्व कायमै राख्न र उत्पादनशील माटो बनाइराख्न भूमिका खेलेको मन्त्री महतोको भनाई छ ।

चुरेको दोहनको कारण आज तराई क्षेत्रमा खानेपानीको समस्या बढेको भन्दै वन जोगाउनको लागि सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य हुनुपर्ने उनले आवश्यकत्ता औंल्याए ।

मन्त्री महतोले पर्यावरण सन्तुलित राख्नपनि वन महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आजको दिनमा वन इकोसिस्टम र जलीय इकोसिस्टम कति महत्वपूर्ण छ भन्ने कुरा मानव र जंगली जनावरबीचको द्धन्द्धले पनि देखाएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्