Logo

उद्धार उडानमा कुनै बन्देज गरिएको छैन : प्राधिकरण



काठमाण्डौं, साउन २८ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धार उडानका लागि कुनै बन्देज नगरिएको जनाएको छ । प्राधिकरणले केही दिनअघि सुरक्षाका लागि भन्दै उडानमा कडाइ गरेको थियो । प्राधिकरणको यो निर्णयको आलोचना हुँदै आएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन अवधिका लागि अपरेसन आवरभित्र मात्रै उडान गर्नेगरी निर्णय भएको र मौसम अनुकूल उद्धार उडानमा कुनै बन्देज नगरिएको बताउनुभयो । दुर्गम क्षेत्रको व्यावसायिक उडानमा अपरेसन आवर लागू गरिएको तथा उद्धार उडानका लागि बन्देज नरहेको उहाँको भनाइ छ ।

मौसम प्रतिकूल हुँदा दुर्घटनाको जोखिम बढ्नसक्ने भन्दै अपरेसन आवरमा मात्रै उडान गर्न प्राधिकरणले आन्तरिक उडानका एअरलाइन्सलाई सर्कुलर गरेको थियो । प्राधिकरणका अनुसार सामान्यतः दुर्गम क्षेत्रका विमानस्थलमा बिहान साढे ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्मको समयावधिलाई ‘अपरेसन आवर’ मानिन्छ ।

दिउँसो साढे १२ बजेपछि उडान भर्न नपाउने नियमका कारण दुर्गम क्षेत्रका यात्रु र बिरामीले सास्ती पाएका छन् । जिल्ला अस्पताल हुम्लाले नेपालगञ्जर रेफर गरेका सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिने छोरा इमरानलाई तत्कालै अस्पताल लैजान नसक्दा अस्ति बिहीवार ज्यान गएको थियो ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीका अनुसार बालकलाई झाडापखाला लागेको थियो । जिल्ला अस्पताल हुम्लाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । तर तत्काल नेपालगञ्ज लैजान जहाज नपाउँदा उहाँको ज्यान गएको थियो ।



प्रतिक्रिया दिनुहोस्