Logo

प्रधानमन्त्री प्रचण्डका स्टेपहरु एकदमै परिपक्व छन्, होशियारपूर्वक नेतृत्व गरिरहनुभएको छ : मन्त्री किराती (भिडिओसहित)



काठमाडौं, २९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहालले एकदमै होशियारपूर्वक आफ्नो कदमहरु चालेको दाबी गरेका छन् । उनले अहिलेको सरकारले विगतका भन्दा सापेक्षित रुपमा राम्रो काम गरिरहेको पनि जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

मन्त्री किरातीले नेपालको राजनीति सहमतिकै आधारमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘नेपालको इतिहासले नै पटक पटक प्रमाणित गरेको कुरा हो कि यो–कुनैपनि समस्याको सामना गर्न र संकटमोचनको लागि सबै दलहरु एक ठाउँमा आउनुपर्छ । सारा नेपाली जनता एक ठाउँमा उभिएपछि मात्रै त्यो संकटमोचन भएको छ । आजको कुरा होईन, पृथ्वीनारायण शाहको पालामा चरम आर्थिक संकट थियो । उहाँको भाईद्धारद्धाजले दिएको सल्लाह र सुझावबाट पृथ्वीनारायण शाह निराश हुन्थे । त्यो बेला नगरा बजाएर दरबारको शुभविहानी गर्ने एउटा बिशे नगर्चीले एक रुपैयाँ पैसा कोटको गोजीबाट (आस्कोट) पृथ्वीनारायण शाहलाई दिए, आर्थिक संकट छ, यो पैसा लिनुहोस । जवाफमा पृथ्वीनारायण शाहले यो एक रुपैयाँ पैसा मलाई किन ? अनि नगर्चीले मैले दिँदा पो यो एक रुपैयाँ, गोरखाका यी १८ हजार घरपरिवारबाट एक एक रुपैयाँ माना मुठ्ठी उठाउँ त । त्यसले हामी युद्ध जित्छौं भनेर उसले सल्लाह दिए । अनि त्यो एउटा आम र सामूहिक अभियान भयो । पृथ्वीनारायण शाहले जिते । सायद बिशे नगर्चीजस्तोको कुरा पृथ्वीनारायण शाहले नसुनेको भए यो भौगोलिक र राजनीतिक एकीकरण गर्ने जुन उहाँको अभियान थियो नि, त्यो मलाई लाग्छ सफल हुन्थेन ।’

उनले पुष्पलालले पनि सबै दल मिलेर अघि बढ्ने कुरा गर्दा उनलाई गद्दार भनिएको स्मरण गराए । तर, अहिले आएर पुष्पलाल सही रहेको कुरा ०६३ सालको जनआन्दोलनले पनि पुष्टि गरेको उनको दाबी छ । विपीले पनि नेपाली माटोको अर्थ–राजनीतिक खोजेको उनले स्मरण गराए । मन्त्री किरातीले पछिल्लो समय नेपालको माटो र समाज बुझेको जिउँदो मान्छे आफ्नो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल रहेको बताए ।

उनले भने,‘अहिले सबभन्दा राम्रो यो समाज बुझेको भनेको प्रचण्डले हो । त्यो बेला, त्यस्तो प्रतिकुल परिस्थितिमा संसारमा ठूला कम्युनिष्ट राष्ट्रहरु ढल्दै थिए, ठूला ठूला क्रान्ति सेबोटेज हुँदै थिए, त्यस्तो बेलामा नेपालमा कम्युनिष्ट आन्दोलन सुरु गरेर, सशस्त्र विद्रोह गरेर राजतन्त्रलाई अन्त्य गर्ने ठाउँसम्म लिएर आउनुको पछाडि सबैभन्दा नेपाली समाजको अन्तरविरोध बुझेको प्रचण्ड नै हो ।’

अहिलेको सरकारले धेरै नै राम्रो काम गरेको उनको दाबी छ । उनले भने,‘यसपटक प्रधानमन्त्रीका स्टेपहरु एकदमै परिपक्व छन् । अब विवादरहित त संसारमा के हुन्छ र ? चन्द्रमा पनि दाग छ । त्यसकारण उहाँले अहिले होशियारपूर्वक नै नेतृत्व गर्न खोजिराख्नुभएको छ । अझै कोशिस गरिरहनुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्