काठमाडौं, २९ साउन । नेकपा (एमाले) ले एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनको लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने अडान कायमै राखेको छ । आज बसेको पार्टी सचिवालयको बैठकले यस्तो माग गरेको हो । उक्त प्रकरणमा न्यायिक समिति गठन गर्न ढिलाई गरे तस्करीका प्रमाणहरु नष्ट हुने एमालेको निश्कर्ष छ ।
अहिले सुन तस्करीको अनुसन्धानसमेत फितलो बनेको एमालेको निश्कर्ष छ । बैठकपछि बोल्दै उपमहासचिव प्रदीप ज्ञवालीले भने,”सुन तस्करी र यसले उत्पन्न गरेका जटिलताबारे गम्भीर छलफल भएको छ । यो विषय छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति अनिवार्य छ ।”
उनकाअनुसार न्यायिक छानबिन समिति गठन गर्न ढिलाई भए प्रमाणहरू नष्ट भैरहेकोबारे आजको बैठकमा छलफल भएको थियो । ‘सीआईबीले गोदाम छापा मार्छ प्रमाण भेटिँदैन । संलग्नहरू फरार हुँदैछन् । यसले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती र अन्तर्राष्ट्रिय छवि बिग्रने जोखिम छ ।’-उनले थपे । एमालेले पनि आजपनि सदन अवरोध गरेको छ । एमालेको अवरोधका कारण प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ २ गते बस्ने भएको छ ।
Photo Source: Balkot/Facebook Page