Logo

कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य मण्डल राज्यमन्त्री नियुक्त



काठमाडौं, साउन ३१ । कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री उद्धव थापाले आज प्रदेश सभाका ज्येष्ठ सदस्यसमेत रहेका कांग्रेस प्रदेशसभा सदस्य गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका छन् । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन्।

मुख्यमन्त्री थापाले यसअघि माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास, कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री र जनता समाजवादी पार्टीकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए।

आज मन्त्री बनेका मण्डललाई अहिले केहीबेरमा पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी रहेको छ । बहुमत पुर्‍याउन सभामुखलाई राजीनामा गराएको सत्ता गठबन्धनले विश्वासको मत लिने वेलामा सम्भावित जोखिम कम गर्न ज्येष्ठ सदस्यलाई मन्त्री बनाएको हो।

एमालेले पनि उपसभामुखलाई राजीनामा गराउनसक्ने र त्यसो हुँदा मण्डलले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्ने हुँदा विश्वासको मत नपुग्ने भएपछि मुख्यमन्त्री थापाले मण्डललाई मन्त्री नियुक्त गरेका हुन्।

मण्डलपछिका ज्येष्ठ सदस्य एमालेका रोहितबहादुर कार्की छन्। तर एमालेले उपसभामुखलाई राजीनामा गराएर मुख्य मन्त्रीले विश्वासको मत लिने दिन ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने चर्चा पनि छ।



प्रतिक्रिया दिनुहोस्