Logo

एमाले सरकारमा जान हतार गरिराखेको छ : परराष्ट्रमन्त्री साउद (भिडिओसहित)



काठमाडौं, ३१ साउन । परराष्ट्रमन्त्री एनपी साउदले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सदन अवरोध गरेर गलत गरेको टिप्पणी गरेका छन्। संसद् भनेको जनप्रतिनिधिहरुको उच्च थलो भएकोले यस्तो बेलामा सदन सुचारु हुनुपर्नेमा उनको जोड छ। मन्त्री साउदले सुन तस्करी प्रकरणमा पनि सरकारले अनुसन्धान गरिरहेको बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सुन तस्करीमा पनि राज्यकै निकायले नै व्यक्तिहरुलाई पक्राउ गरेको बताए । र, अब छानबिनको प्रक्रियालाई पर्खन उनले एमालेलाई आग्रह गरे । उनले भने,‘संसद् चल्नुपर्छ । एमालेले धेरै लामो समयसम्म संसदलाई रोक्यो भने यो उसैका लागि गलपासो हुनसक्छ । हामी ब्याक हुन्नौं । तर, अधिकतम लचक हुन्छौं । यो भनेको छानबिनलाई निश्पक्ष बनाउने । छानबिन दोषीलाई कारबाही गरेर टुँगिन्छ ।’

उनले एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको सवालमा उनले तथ्य र प्रमाण दिन आग्रह गरे । उनले दोषी प्रमाणित नभएसम्म गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले किन राजीनामा दिने भन्दै प्रश्न गरे । उनले निर्वाचनमा एमालेलाई जनताले प्रतिपक्षमा बस्न भनेर मत दिएको स्मरण गराए । उनले एमालेले अहिले सरकारमा जान हतार गरिराखेको दाबी गरे ।

उनले भने,‘एमालेले अहिले कहिले कुनै पार्टीलाई, कहिले अर्को पार्टीलाई तपाईँहरुले सरकारको नेतृत्व गर्नुपर्यो भन्ने किसिमको प्रस्ताव गरिराखेको छ। एमालेका धेरै आश्वासनहरुबाट हामी भुक्तभोगी भएर आइसकेका छौं ।’



प्रतिक्रिया दिनुहोस्