Logo

सभामुखले केपी ओलीको गेटपाले जस्तो व्यवहार गरिरहनुभएको छ : कांग्रेस नेता



काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली स्नेहीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गैरजिम्मेवार भएकाले संसद् चल्न नसकेको आरोप लगाएका छन् ।
‘पहिलो कुरा कांग्रेसका कारण संसद् नचलेको होइन, विपक्षी दल नै गैरजिम्मेवार भएकाले नचलेको हो । विपक्षी दलको रुपमा उसको भूमिका हेर्दा निकै अलोकतान्त्रिक छ । सरकारको नेतृत्वमा भएका बेला संसद् भंग गर्ने, विपक्षमा हुँदा चल्नै नदिने खालको छ । अब त संसद्मा रहेका सबैले केपी ओलीको हातमा ठूलो ताला किनेर दिए हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीले आफू बाँचुन्जेल सरकार प्रमुख बन्न नसक्ने भएकाले त्यसको कुण्ठा संसद् अवरुद्ध गरेर पोखेको आरोप पनि रसाइलीले लगाए । उनले थपे, ‘कसैसँग मिल्न नसक्ने केपी ओलीको स्वभाव छ । आफ्नो पुस्ताका नेता प्रचण्ड, माधव, झलनाथ, शेरबहादुर देउवा कसैसँग उहााको हार्दिकतापूर्ण व्यवहार छैन । अर्को कुरा उहाँ बाँचुन्जेल प्रधानमन्त्री हुने अवस्था छैन । त्यो कुण्ठा संसद् अवरुद्ध गरेर अभिव्यक्त गर्न खोजेको देखिन्छ ।’
सुन तस्करीमा उच्चस्तरीय न्यायिक समिति माग गर्ने नेकपा एमाले अरु भ्रष्टाचारको छानबिन गर्न तयार हो कि होइन भन्ने प्रश्न पनि उनले गरे । रसाइलीले भने, ‘मुखले उच्चस्तरीय छानबिन भने पनि मुलुकका ठूला एक दर्जन भ्रष्टाचारमा पौने दर्जनजति ओलीसँगै जोडिन्छन् । उहाँको साढे तीन वर्षे कार्यकालमा भएका यती, ओम्नी, वाइडबडी, एनसेल, गिरीबन्धुको बारेमा उच्चस्तरीय न्यायिक छानबिनका लागि तयार हो ? त्यसमा राष्ट्रिय सहमति कायम गरौं न । ओलीले यी सबै प्रस्ताव संसद्मा गर्न सक्नुहुन्छ ?’
संसद् खोल्नमा सभामुख देवराज घिमिरेको भूमिका गैरजिम्मेवार भएको आरोप पनि रसाइलीले लगाए । उनले थपे, ‘सभामुखले नेकपा एमालेको कार्यकर्ता जस्तो व्यवहार गरिरहनुभएको छ । केपी ओलीको गेटपाले जस्तो व्यवहार गरिरहनुभएको छ । ओली मुढेबलमा चलेर संसद्लाई निकम्मा बनाउन चाहनुहुन्छ । हरेक दिन पत्रकार सम्मेलन गर्नुहुन्छ । उहाँको पार्टीमा प्रवक्ता छैन ?’ राज्यको निकाय सीआईबीले सुन तस्करीको अनुसन्धान गरिरहेकाले त्यसलाई प्रभाव पार्ने गरी उच्चस्तरीय समिति बनाउन नसकिने पनि उनले बताए ।
केपी बाँचुन्जेल एमालेसँग कांग्रेसको समीकरण बन्ने सम्भावना नरहेको ठोकुवा पनि उनले गरे । रसाइलीले भने, ‘प्रचण्ड, माधव नेपालपछि हाम्रो पार्टीको नेतृतवमा सरकार बन्छ । त्यो सम्झौताबाट नेपाली कांग्रेस ब्याक हुँदैन । केपी बाँचुन्जेल, यो जुनीमा एमालेसँग कांग्रेसको गठबन्धन, समीकरण केही हुँदैन ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot