काठमाडौं, साउन ३२। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले श्रम शक्तिको निर्यात नभई स्वदेशमै उपयोग गर्ने नीति अवलम्बन गर्न ढिला हुन लागिसकेको बताएका छन्।
पार्टीको अर्थ तथा योजना विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वदेशमै पर्याप्त रोजगारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेकाले नेपालमा के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरुरी रहेको
बताए ।
उनले भने, ‘नेपालमा केही हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोज्यो। गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरुरी छ।’ नेता पुनले श्रम शक्ति पलायनको चक्र रोक्न औद्योगीकरणमार्फत उत्पादन बढाउने र रोजगारी सिर्जना गर्नेतर्फ जोड दिए। उनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने उल्लेख गरे।
मुलुकको समग्र आर्थिक विकासका लागि सार्वजनिक, निजी र सहकारीको नीति खम्बे अर्थनीतिलाई आत्मसात् गरी पुँजीको सही उपयोगमार्फत उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने पुनको भनाइ छ।
हाल कमजोर अवस्थामा रहेका सार्वजनिक संस्थान बचाउन पनि केही न केही नयाँ नीतिमा फड्को हाल्नुपर्नेमा उनले जोड दिएका छन्। अन्तरक्रियामा आएका सुझाव समेटेर छिट्टै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाइने माओवादी आर्थिक तथा योजना विभागको तयारी छ।