Logo

कैलाली र कञ्चनपुरका रानाथारू समुदायले आज तीज मनाउँदै



काठमाडौं, भदौ २ । कैलाली र कञ्चनपुरमा रानाथारू समुदायले भव्यताका साथ तीज पर्व मनाइरहेका छन् । राना थारू समुदायका महिलाले आज शनिबार पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामनासहित तीजपर्व मनाइ रहेका छन्। यस अवसरमा दाजुभाइले दिदीबहिनीका लागि गाउँमा राखिएको डोला (पिङ) खेल्ने चलन छ।

तीजका अवसरमा घर–घरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ।

तीजका अवसरमा महिलाले घङ्घरिया, अङ्गिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन्। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ।

राना थारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक गरी मनाइन्छ । एक महिनासम्म तीज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ । त्यसरी हालिएको पिङलाई डोला भनिन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot