Logo

‘सीआईबीले नबोलाईकन माधव नेपालले बयान दिन जान्छु भन्न मिल्दैन’



काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको आलोचना नभएको दाबी गरेका छन् ।
‘यो शतप्रतिशत गलत र भ्रामक कुरा हो । बैठकमा कसैको आलोचना भएको छैन । ललिता निवास प्रकरणमा माधवकुमार नेपालले अनुसन्धानमा सघाउन तयार छु भनिरहनुभएकै छ । बयान लिने वा नलिने सम्बन्धित अनुसन्धान निकायको कुरा हो । उसले नबोलाईकन म बयान दिन जान्छु भन्न मिल्छ र ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीआईबीलाई माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नगर्न किन आदेश दिनुभयो त भन्ने प्रश्नमा खतिवडाले थपे, ‘प्रचण्डले के आदेश दिनुभयो ? मलाई थाहा छैन । यदि त्यस्तो आदेश दिनुभएको भए उहाँले नै जान्ने कुरा हो । माधव नेपालले आफू जोगिनुपर्ने वा जोगाउनुपर्ने कुनै कारण छैन ।’

साथै उनले एकीकृत समाजवादी भ्रष्टाचार विरुद्ध सडकमा उत्रिने एक मात्र पार्टी भएको दाबी पनि गरे । उनले भने, ‘संसद्मा नक्कली भुटानी शरणार्थी प्रकरण उठाउने पार्टी हामी नै हो । सडकमा पनि भ्रष्टाचारविरोधी अभियान गर् यौं ।’

समग्र भ्रष्टाचारहरुको आवश्यक छानबिन हुनुपर्ने पनि उनले बताए । खतिवडाले भने, ‘सरकारले राम्रो काम गर्न सकेन भन्ने त छँदै छ । तर आलोचना मात्र गरेर पनि हुँदैन । समग्र भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले उल्लेखनीय काम गर्न सकेको छैन । कतिपय योजना कार्यान्वयन हुन सकेका छैनन् ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउनभन्दा पनि अझ राम्रो गर भन्न खोजेको हुन सक्ने खतिवडाले बताए । साथै उनले धेरै दल मिलेर बनेको सरकारलाई जहिले पनि खतरा हुने औंल्याउँदै आफ्नो पार्टी सरकारबाट बाहिरिनुपर्ने परिस्थिति नरहेको पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्