Logo

कांग्रेस नेताको प्रश्न– नारायणकाजीलाई सुशासनभन्दा मन्त्री पद किन प्यारो भो ?



काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले प्रमुख प्रतिपक्ष नेकपा एमालेको हठका कारण लोकतन्त्र नै मर्ने अवस्था आएको आरोप लगाएका छन् ।
‘अहिले देशमा सुन तस्करी मात्र छैन । विपद्, लम्पी स्किन, महँगीलगायतका अनेक समस्या छन् । त्यो छलफलको थलो संसद् हो । संसद् भनेको लोकतन्त्रको इन्जिन हो, मुटु हो । तर संसद्लाई बन्धक बनाउँदा लोकतन्त्र नै मर्ने अवस्था आएको छ । सदन बन्द गरी भत्ता खाएर बस्ने कुरा हुनै सक्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
डा. पोखरेलले संसद्लाई बन्धक बनाइरहनु गैर राजनीतिक र गैर लोकतान्त्रिक कदम भएको टिप्पणी पनि गरे । उनले भने, ‘मुलुकमा सुशासनको खिल्ली उडाइएका बेला संसद्लाई बन्धक बनाउनु गैरराजनीतिक काम हो । एमालेले यो नाटक किन गरिरहेको ? किन बालहठ गरेको ? न्यायिक समिति आवश्यक हो भने संसद्मै औचित्य पुष्टि गर्नुपर्छ । सीआईबीले अनुसन्धान गर्दै जाँदा हामीलाई पनि समात्छ भनेर एमाले डराइरहेको त होइन ?’

साथै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अनुसन्धान गरिरहेको निकायमा हस्तक्षेप गरेको आरोप पनि लगाए । डा. पोखरेलले भने, ‘अहिले शेरबहादुर देउवाले गृहमन्त्रीलाई हटाउन दबाब दिएको समाचार आइरहेको छ । त्यस्तो हो भने उहाँ संसद्मा गएर किन बोल्न्हुन्न ? मुलुकमा सुशासन कायम गर्नुभन्दा उहाँलाई मन्त्री पद प्यारो किन छ ? अनुसन्धान गरिरहेका अधिकारीको सरुवा र अनुसन्धान प्रक्रिया हस्तक्षेप गरेका कारण गृहमन्त्रीको भनाइमा विश्वास गर्ने आधार छैन ।’



प्रतिक्रिया दिनुहोस्