Logo

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै



महोत्तरी, ४ भदौ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदैछ । चन्द्रमास गणनाको साउन शुक्ल पञ्चमीका दिन सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यस पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रुपमा लिने गरिन्छ ।

यस पर्वमा मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको पूजाआराधना गरिन्छ । घरमूली गृहिणीले ‘लगपाँच’ का दिन सखारै पवित्र स्नान गरी भित्तामा नाग चित्र कोरेर पूजाआराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा (भुटेको धान, जुनेलो) चढाउँछन् ।

यो पर्व मध्य बर्खाभित्र पर्ने भएकाले यस समयमा सर्पादिको भय हुनेहुँदा नागको पूजा गर्ने र नागलाई खुसी बनाउने परम्परा चलेको मैथिल पुरोहित बताउँछन् । घरको भित्तामा गाईको गोबरले नागचित्र कोरेर पूजा गरेमा वर्षभरि सर्पको भय नहुने जनविश्वास रहेको संस्कृतिका ज्ञाता बर्दिबासका महेशकुमार झाले बताए ।

सामान्यतया सौरमास गणनामा यो पर्व साउनमा पर्ने गरे पनि यस वर्ष साउनभरि अधिकमास परेकाले तिथि पछि परेको उनले जानकारी दिए । उनका अनुसार यस पर्वमा घरका चारै कुनाका भित्तामा नागचित्र कोरिनुका साथै मुख्यद्वारमा कागजमा कोरिएको वा बनाइएको चित्र टाँसिन्छ ।

घरआँगनको मध्यभागमा गाईको गोबरले लिपेर बनाइएको वेदीमा गोबरकै कुण्डमा घरकी मुख्य गृहिणीले दूध, लावा चढाएर नागमहिमा वर्णन गर्दै घरका सबैको रक्षा गर्न नागदेवतासँग पुकार गर्ने परम्परा रहेको झाले बताए ।

मिथिलामा ‘लगपाँच’ पर्व हिन्दू परम्पराका पर्व प्रारम्भ भएको सूचनाका रुपमा लिइन्छ । ‘लगपाँच’लगत्तै राखी (रक्षाबन्धन), कुशे अमावश्या (कुशेऔँशी), चौरचन, इन्द्रजात्रा, पितृपक्ष, दसैँ, तिहार, छठलगायत पर्व आउने हुँदा यसलाई पर्वहरुको पूर्वसूचना मान्ने गरिएको पाका मैथिल बताउँछन् ।

हिन्दू परम्परामा सबै जीवप्रति ससान सद्भाव राखिनुका साथै प्रकृति पूजक भएकाले सर्पादिको बढी चहलपहल हुने बर्खायाममा नागपूजा गर्ने परम्परा बसेको कर्मकाण्डी पुरोहित ब्राह्मण झाले बताए । हिन्दू मैथिल परम्परामा विभिन्न जीव तथा वनस्पतिको महत्व र समयअनुसार पूजाआराधना गर्ने प्रचलन रहेको उनको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot