काठमाडौं, ५ भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले अटेरी, अडान र हठ छाडेकाले अब संसद् सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गरेका छन् ।
‘हामीले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति बनाउने माग राख्दा सरकारले अटेरी गर् यो । हठ र अडान राख्यो । संसद् अवरोध गर् यो । अहिले सैद्धान्तिक रुपमा उच्चस्तरीय छानबिन समिति बनाउन सहमत भएपछि हाम्रो माग पूरा भएको छ । अब संसद् सञ्चालनमा सहजता आउने विश्वास लिएका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
तीन प्रमुख पार्टीका सांसद रहेको कार्यदलले आज बिहान ११ बजेसम्म कार्यविधिको मस्यौदा गर्ने, दिउँसो २ बजे बैठक राखेर अन्तिम रुप दिने र त्यसपछि उच्चस्तरीय छानबिन समिति बनाउने प्रक्रिया सुरु हुने सचेतक बर्तौलाले बताए ।
एमालेले संसद् नचलेको एक महिनाको भत्ता लिन्छ कि लिँदैन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘तपाईंले राम्रै बहस गर्नुभयो । तर यो साह्रै टेक्निकल कुरा हो । कतिपय नयाँ पार्टीले भत्ता नलिने भन्नुभएको छ । महिनामा बढीमा ६-७ दिन बैठक चल्छ, बाँकी २३ दिनको पनि तलब गएको हुन्छ । कहिले १० घन्टा चल्छ, कहिले एक घन्टा मात्र चल्छ । बैठक भएको केलाई भन्ने, नभएको केलाई भन्ने ? यो सांसदले सदन नचलेको दिनको पनि भत्ता खाए भनेर बदनाम गर्ने, हुर्मत लिने प्रोपगान्डा मात्र हो । कसैले सांसदहरुको अवस्था पनि अध्ययन गरिदिए हुने हो ।’