काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति आवश्यकै नभएको टिप्पणी गरेका छन् ।
‘उच्चस्तरीय छानबिन समिति बनेपछि सुन तस्करीको जाँचबुझ, छानबिन र अनुसन्धानमा प्रतिकूल प्रभाव पर्न सक्छ । सीआईबीलाई डिस्टर्ब हुन्छ । शीर्ष नेताहरुले संसद् खुलाउन सहमति गरे होलान् । तर यसको आवश्यकतै थिएन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
आयोगले दिएको प्रतिवेदन थन्किएपछि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा खुसी हुने भन्दै बिडारीले व्यंग्य पनि गरे । उनले भने, ‘सीआईबीले अनुसन्धान गर्दा आफ्ना मान्छे भकाभक पक्राउ पर्ने भएकाले पन्छाउन खोजिएको हो । यो आयोगले अनुसन्धानका नाममा ६ महिना, वर्षदिनमा प्रतिवेदन दिन्छ अनि थन्किन्छ, सुन तस्करी काण्ड नै ओझेल पर्छ । त्यसपछि ओलीजीहरु खुसी भइहाल्नुहुन्छ ।’
कोसी प्रदेशमा सरकार टिकाउने कुनै उपाय नभएकाले अध्यक्षता गरेको सांसदले मतदान गर्नुपरेको पनि बिडारीले बताए । उनले भने, ‘प्रदेशमा सरकारविहीन बनाउनु त भएन । अरु केही उपाय पनि थिएन । एमालेले छलछाम, षडयन्त्र, तिकडम र बदनामको अभ्यास खुब गर् यो । रातारात बिरामी हुने, रातारात बिदा लिने, रातारात अनुपस्थित हुने । कति करोड खाएर बिरामी भा ? कति करोड खाएर अनुपस्थित भा ? यस्ता काम एमालेले गरिरहन्छ । पहिले पनि पैसाको चलखेल गर्ने, होटलमा राख्ने, ब्लुफिल्म हेराउने, विदेश घुम्न पठाउने काम गरेकै हो त ।’ यसको अन्तिम व्याख्या सर्वोच्च अदालत गर्ने पनि उनको भनाइ छ ।