काठमाडौं, भदौ ४ । संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा शितल निवासमा छलफल सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने एमाले बाहेकका राजनीतिक दल सहभागी रहेका छन् ।
बिहान साढे ८ बजेका लागि बोलाइएको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै बहिस्कार गरेको छ ।
एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएपछि राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।
यता, सोमबार राती बसेको सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको बैठकले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरिसकेको छ ।
कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरुबीच सहमति अनुसार छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा (माओवादी केन्द्र)का नेता हितराज पाण्डे सदस्य रहने गरी सोमबार राती बसेको बैठकले कार्यादेश समिति गठन गरेको हो ।
सोमबार रातीबो बैठकपछि अब निर्धारित समयमै संसद् बैठक बस्ने सहमति भएको बैठकमा सहभागी नेताहरुले बताएका थिए ।