Logo

नेवार समुदायको लाखे जात्रा सुरु



खोटाङ, ५ भदौ । नेवार समुदायको प्रमुख चाड लाखे जात्रा सोमबारबाट औपचारिकरुपमा सुरु भएको छ । नेवार समुदायको घनाबस्ती रहेका ठाउँमा हरेक वर्ष मनाइने लाखे जात्रा अन्तर्गत खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सोमबार दिनभर लाखे नाच प्रदर्शन गरियो ।

पछिल्लो एक वर्षमा मृत्यु भएका दिवङ्गत आफन्तको सम्झना गर्दै मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको लाखे जात्रासँगै गाई जात्रासमेत मनाउने गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा मनाइने गाई जात्रा पर्वलाई व्यङ्य गर्ने दिनका रूपमा समेत चिन्ने गरिन्छ । गाई जात्रामा खोटाङका नेवार समुदायले दिवङ्गत भएका आफ्ना पितृगणको सम्झना गर्दै टोलटोलमा घुमेर लाखे नाच देखाउने गरेका छन् । क्वाँटीपूर्णिमाको दिन यसअघि अर्थात वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै सापारु बनाएर दिक्तेल बजारका विभिन्न चोक परिक्रमा गराउने गरिएको छ ।

मृतकको तस्वीरसहित खटमा राखिएको सापारुमा आफन्तजनले पूजाआजा गर्दै रामायणका साथै मृतकको जीवनीवाचन गर्ने चलनसमेत रहेको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले बताए । लयवद्ध तरिकाले वाचन गरिने रामायण र जीवन सुन्दा धेरैको मन रुन्छ । दिक्तेल बजारमा मनाइने लाखे जात्राको मुख्य आकर्षण मुकुण्डोधारी लाखे नाच्छन् । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराको नक्कल गर्दै मुकुण्डोधारी लाखे नाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् ।

लाखे बन्ने व्यक्तिले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर बसेका हुन्छन् । लाखेसँगै अघिपछि नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन गराउँछ । लाखे जात्रालाई जिल्लाका नेवार समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् । लाखे जात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुखका कुरा आदानप्रदानसमेत गर्ने गर्छन् । लाखे जात्राको अवसरमा नेवार समुदायको घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने चलन छ ।

आफन्तजन, इष्टमित्र, साथीभाइलगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने गर्छन् । अध्ययन, जागिर तथा विभिन्न पेसा/व्यवसायका क्रममा घरदेखि टाढा रहेका परिवारका सदस्य पनि लाखे जात्राको अवसरमा एक ठाउँ भेला हुने गरेका छन् ।

लाखे जात्राले सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक महत्वसँगै नेवार र गैर नेवार समुदायबीच आपसी भाइचारा तथा भातृत्व कायम गर्दै खोटाङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्र लयालुले बताएका छन्। लाखे पर्वसँगै जिल्लामा लाखेजात्रा, गाईजात्रा, हिले जात्रा, रोपाइँ जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायतका विभिन्न जात्राहरु मनाउने चलन रहिआएको छ ।

श्रीकृष्ण जन्माष्टमीको दिन कृष्ण जात्रा गरेपछि कृष्णले राक्षस, भूत–प्रेत आदि मारेकोले लाखे ख्याली, आदि भूत–पिचास, नागको भय हुँदैन भन्ने जनविश्वास छ । नागपञ्चमीबाट औपचारिक रुपमा सुरु गरेर विशेष तरिकाले मनाइने लाखे जात्रा कृष्णाष्टमीको भोलिपल्ट नदीमा गएर विधिवत् रुपमा समापन गर्ने चलन रहिआएको छ ।

नेवार समुदायको महान चाड लाखे जात्राले जिल्लामा व्यापार/व्यवसायलाई समेत सघाउ पुग्ने खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन आचार्यले बताएका छन् । लाखे जात्रा दिक्तेल बजार, बुइपा, एैँसेलुखर्क, खोटाङबजार, चिसापानी, अर्खौले, खार्मी, दोर्पाचिउरीडाँडा लगायत नेवार समुदायको घना बस्ती भएको ठाउँमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्