Logo

‘अब एमाले अदालत नजाने कुरा हुन्छ ?’



काठमाडौं, ६ भदौ । नेकपा एमालेका नेता एवं सांसद मनबहादुर गुरुङले आज संसद् चल्ने कुरामा संशय व्यक्त गरेका छन् ।
‘आजबाट संसद् चल्छ त भनिएको छ । दिउँसो तीन बजे बैठक बस्ने भनेर सूचना टाँस पनि गरिएको छ । तर के हुन्छ, यसै भन्न सकिँदैन । उच्च स्तरीय छानबिन समिति बनाउने भन्ने अस्ति रातिको सहमतिमा पुनर्विचार गर्ने भनेको पनि सुनिँदै छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सांसद गुरुङले नेकपा एमालेका कारण संसद् अवरुद्ध नभएको पनि जिकिर गरे । उनले भने, ‘हामीले संसद् अवरुद्ध गरेको होइन । गर्नुपर्छ भन्ने मान्यता पनि छैन । त्यस्तो रहर पनि छैन । एउटा सियो पनि नछिर्ने ठाउँबाट एक क्विन्टल सुन कसरी छिर् यो ? सरकारप्रति नै प्रश्न उठेपछि हामीले उच्चस्तरीय छानबिन माग गरेका हौं । तर एक महिनासम्म किन आनाकानी गर् यो ? । एमालेको नेतृत्वमा छानबिन समिति बनाऊँ भनेको त होइन नि ।’
कोशी प्रदेश सरकारले विश्वासको मत लिँदा संविधान र कानुनको उल्लंघन गरेकाले एमाले अदालत जाने पनि गुरुङले बताए । उनले भने, ‘प्रदेश सभाको अध्यक्षता गरेको व्यक्तिले बराबरी भएको अवस्थामा मात्र मतदान गर्न पाउँछ । तर बराबरी नहुँदै भोट हालिदिएपछि अदालत जाने बाटो खुला गरिदिएको छ । अब एमाले अदालत नजाने कुरा हुन्छ र ?’
ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्ने व्यक्ति खुलेआम भाषण गरेर हिँड्ने, जग्गा मिलाउने खुलेआम बस्ने अनि पैसा हालेर किन्ने मान्छेलाई जेलमा कोच्ने नियत राखिएको आरोप पनि सांसद गुरुङले लगाए । उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको रिपोर्टकै फोटोकपी सीआईबीले पनि दिने हो भने त्यसको के अर्थ ?’



प्रतिक्रिया दिनुहोस्